Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Friday, February 25, 2011

नेपाललाई यसरी पनि बुझौँ कि !



तीर्थबहादुर श्रेष्ठ
(साभार : नागरिक दैनिक, फाल्गुन १२ , २०६७, बिहिबार)

नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्थ्यौं। आज यो दुई तरुलबीचको ढुङ्गाजस्तो भएको छ। निर्जीव, निश्चल र निरीह पनि। चार जात ३६ वर्णको देश भन्थ्यौं। आज ३ नेता र २८ पार्टीबाहेक कोही छैनजस्तो लाग्छ नेपालमा। अपार जलस्रोतको देश भन्थ्यौं। अँध्यारोको गहिराइमा सुतिरहेछौँ हामी। काम र मामको अभावमा फसेका नेपाली युवा शक्ति विदेश पलायन भएका छन्। तिनकै पसिना, रगत र रेमिट्यान्सबिना अर्थतन्त्र नचल्नेजस्तो भैसक्यो। देश प्रेमप्रति वितृष्णा बढ्दैछ हाम्रो युवा पिँढीमा। यस परिदृश्यमा नेपाललाई फेरि एकपटक बुझ्ने चेष्टा गरौँ।
• यसको भूस्वरूपका बारेमा
• यसको प्राकृतिक एवं मानवीय संसाधनका बारेमा
• यसको सांस्कृतिक विविधताका बारेमा र,
• यसको आफ्नो विशेष पहिचान के हो? त्यसका बारेमा।
हामी आफैंले आफूलाई 'ल्यान्ड लक्ड' भन्छौं तर एसियाका दुई विशाल राष्ट्रलाई जोड्ने भूसेतुको रूपमा रहेको अनुभव गर्दैर्नौ। 'ल्यान्ड लिंक्ड' भन्दैनौ। विश्वको सबभन्दा धेरै जनसंख्या र सबभन्दा ठूलो जनघनत्वलाई आवश्यक पर्ने पानी हाम्रै जलस्रोतले पिउन दिइरहेको छ। त्यसप्रति कोही अनुगृहित छैनन्। छिमेकी मित्र राष्ट्रका छिमेकी जनसमुदायले सिर्जेका अवसरजस्तै व्यापार र बजार, पर्यटन र मनोरञ्जन, क्षेत्रीय सहयोग र आपसी उन्नति आदिलाई हामीले भजाउन सकिरहेका छैनौ। हाम्रो असंलग्न परराष्ट्र नीति र भौगोलिक मध्यस्थताले जुराएका अवसर यसै खेर गइरहेका छन्। नेपालीको ऐक्यबद्धता र संगठित प्रयास हुनसक्यो भने समृद्ध नेपाल समृद्ध एसियाको माझमा उभिनेछ। धेरै समय लाग्दैन। मलाई यस्तै लाग्छ। किनभने प्राकृतिक स्वरूप र सम्पदा तथा सांस्कृतिक विविधताका दृष्टिमा नेपाल एसियाको विनिमय केन्द्र हो। जीव विशेषज्ञहरूका नजरमा नेपाल त्यो भूस्वर्ग हो जहाँ छ वटा विशाल जीव प्रान्तका साँध जोडिन पुग्छ। दक्षिणपूर्वी एसिया र मलेसियाको जैविक प्रान्तको उष्ण र आर्द्र जलवायु झापा र मोरङसम्म विस्तार हुन्छ। जापान र चीनको शितोष्ण क्षेत्र कञ्चनजंघा र अन्नपूर्णसम्म फैलिएको छ। मध्यएसियाको सुख्खा र ठण्डा प्रदेश मुस्ताङ र डोल्पासम्म विस्तारित छ। श्रीलंका र भारतको उष्ण जलवायु हाम्रो तराई मधेससम्म फैलिन पुगेको छ। सुडान र जाम्बिया क्षेत्रका सुख्खा उष्ण घाँसे परिवेशले सुदूरपश्चिम नेपाल छुन पुग्छ। इरान, टर्की र भूमध्य सागरीय जलवायु पनि धौलागिरीको काखसम्म आइपुग्छ। यी छ प्रान्तको विविधता एकै थलोमा संरक्षण गर्नुपर्‍यो भने त्यो संगमस्थल नेपालै हो। यी छ प्रान्तबीच जैविक वा वातावरणीय अन्तरक्रियाको अवसर पनि नेपालमा प्रशस्त हुन्छ।
हामी नभुलौं, नेपालको काखमा हिमाल छ। त्यसैले 'हामीले हिमाल उचाल्यौं एसियाको माझमा।' लगभग दुई हजार पाँच सय किलोमिटर लामो हिमालको मध्यस्थलको आठ सय किलोमिटर नेपालभित्र पर्छ। त्यसैले पूर्वी हिमालका चाँप र गुराँसले पश्चिमी हिमालका देवदार र जैतुन नेपालमा भेट्छन्। पूर्वको चिलिमे चराले पश्चिमको च्याखुरा पनि नेपालमै भेट्छ। यसैगरी उत्तरतिर तिब्बत क्षेत्रका गेरु रङ्गे भालु (ब्राउन बियर) को वासस्थान हिमाली कालु भालुको वासस्थानको निकटसम्म आइपुग्छ। त्यही गेरु रङ्गे भालुको पद चिन्ह हिउँमा छापिएपछि यतिको पाइला बन्न पुग्छ। यति विशेषज्ञहरू यस्तै निर्क्योलमा पुगेका छन्। यी विभिन्न कारणले गर्दा नेपाल एसियाको चौबाटो हो। चौबाटाको फाइदा व्यापारीले उठाउँछ। तस्कर व्यापारीले यो फाइदा उठाएका छन् तर वैध व्यापारीका लागि त्यस्तो सहज अवस्था हामीले सिर्जन सकेका छैनौ। हाम्रो विकासको बाटो त्यतैतिर छ भन्नु अत्युक्ति हुँदैन।
हामी मनसुन क्षेत्रमा छौँ। प्रकृतिको क्रीडा भनौ वा वातावरणीय खेल, त्यसमा मानिस र मनसुनको प्रभावमा पर्वतीय परिवर्तन हुने गरेको छ। पर्वतीय देश। हाम्रो मूल समस्या उकाली–ओराली। थाप्लोबाट नाम्लो हटाऊ भन्छन् हाम्रा गाउँले दिदीबहिनी। पृथ्वीको गुरुत्व हाम्रो समस्या हो भने समाधान पनि त्यहीं छ। जलस्रोतलाई जलशक्तिमा बदल्नुपरेको छ। हाम्रो जलमा शक्ति छ किनभने ती उचालिएका छन्। भन्छौं, हाम्रोमा अपार जलशक्ति छ। अपार भनेको त्यो शून्य हो जसको अगाडि अरू अंक छैन। त्यस शून्यको अगाडि एक थप्ने हाम्रो काम हो।
अर्को अपार सम्पदा जैविक विविधता हो। अन्न बाली, फलफूल, पाल्तु पशुपंछी तथा वन्यजन्तु, वनस्पति र जडिबुटी पनि अथाह छन्। त्यस अथाहलाई थाहमा परिणत गर्नु अर्को चुनौती हो।
नेपालीको शक्ति नेपालका पाखाबारीका करोडौं कान्ला र ड्याङमा खर्चेका पाखुरी बलले प्रमाणित गर्छ। बिनामेसिन र डिजिलले कसरी सम्याउन भ्याए ती पाखा पर्वत! विदेशी अचम्म मान्छन्। विश्वको सर्वोच्च शिखर यिनकै पाउले चढे र विश्वयुद्ध यिनकै पाखुरीले जिते! इतिहास साक्षी छ! नेपालीलाई उदासीन हुन सुहाउँदैन।
सांस्कृतिक विविधताको कुरा गर्दा १४० भन्दा बढी भाषाभाषिका मानिस मिलेर नेपाल बनेको छ। हालसालै भाषा सर्भेक्षणमा कार्यरत प्रा.डा. चुडामणि बन्धुबाट प्राप्त जानकारी हो यो। भोट, हिमाल, पहाड, मधेस, चुरे र तराई, यी विभिन्न परिवेशमा आआफ्नै संस्कृति, संस्कार र सभ्यता विकसित भएका छन्। यी विभिन्न संस्कृतिका जननी प्रकृति नै हुन्। आफ्नै परिवेशका ज्ञानविज्ञानलाई हामीले बिर्सन हुँदैन। स्थान विशेषतालाई बिर्स्यौं भने आफ्नो भन्नु केही बाँकी रहँदैन। ताप्लेजुङको तोङ्वा भनौं वा डोटीको देउडा, शेर्पाका चौँरी वा मगरहरूको मह, थारुका घोंघी वा बोटेका सहर माछा, भक्तपुरको जुजुधौ वा काठमाडौंको काउली, पाल्पाको टोपी वा प्युठानको मुला सबैमा स्वस्थानीय सुवास छन्। तिनको जगेर्ना हुनुपर्छ। आआफ्नो संस्कृति र परम्पराका स्वस्थानीय व्रत सबै जातजातिले पूरा गर्नुपर्छ। तर एउटा चिन्ताको विषय छ आजभोलि। नेपालका केही भूभाग, महत्वपूर्ण भूभागहरू नेपालीरहित रित्तो नेपालमा परिणत हुँदैछन्। गाउँको गुरुत्व र स्वस्थानीय अस्मिता गुम्दैछ। नयाँ जागरणको खाँचो टड्कारो छ।
प्रकृति र संस्कृतिको यो पुण्य भूमिमा आजभोलि विकृतिको राज छ। दुई कर्मका बिगबिगी बढ्दैछन्। विकृति र कुकृतिलाई जनताले खेद्छ भन्ने उदाहरणको रूपमा होस्नी मुवारको इजिप्टलाई हामी आज अखबारभरी पढ्छौं, रेडियोभरी सुन्छौं, टेलिभिजनभरी देख्छौं पनि। मेरो आफ्नै जीवनकालमा २००७ साल देखें, २०१७ साल देखें, २०४६ साल भोगें, २०६२/६३ लाई भोगें, रेग्मीको थप्पडले रातो भएको गाला पनि देखें। जनताको शक्तिलाई कम आँक्न हुँदैन। त्यही जनशक्ति, जलशक्ति र जमिन शक्तिलाई समुचित्त ढङ्गले व्यवस्थित गर्न सक्यौँ भने हाम्रो भविष्य उज्यालोमात्र होइन गौरवपूर्ण हुनेछ।