Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Saturday, June 18, 2016

NEATalk “सकारात्मक सोच (Positive Thinking)” को छोटो सारांश, (Speaker : Karna Sakya, June-17, 2016)

मिति २०७३-०३-०३ (June-17, 2016) मा ने.ई.ए. मा गरिएको NEATalk एक विशेष प्रकारको जीवन शिक्षा (Life Education)  थियो | अनेकौं पिडा र भोगाईबाट खारिएर तयार भएको, सकारात्मक सोचले भरिपुर्ण एक सफल व्यवसायी, वातावरणविद, संरक्षणविद, लेखक तथा समाजसेवीको रुपमा समाजमा आफ्नो विशिष्ट स्थान बनाउन सफल व्यक्तित्व कर्ण शाक्यको यथार्थ जीवनी थियो | एकजना व्यक्तिको सकारात्मक सोच, इमान्दारिता र निरन्तर लगावले मात्र पनि समाजमा कति परिवर्तन र संदेश दिन सक्दोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ कर्ण शाक्यजी |

शुरुमा केहि इन्जिनियरिंङ दर्शनमा केन्द्रित हुँदै स्थानीय कला र सिर्जनालाई उच्च महत्व दिदैं उहाँले भन्नु भयो :
-        हरेक घरको आफ्नै व्यक्तित्व हुन्छ, इन्जिनियरहरु गम्भीर हुनुपर्दछ |
-    पैसाले धेरै कुराहरु किन्न सकिन्छ तर इतिहास तथा पुरातात्विक संरचनाहरु जस्ता कुराहरु किन्न सकिंदैन, आफ्नो कला र संस्कृति प्रति गौरव गर्नुपर्दछ |
-    सिर्जना सपनाबाट जन्मन्छ, सदा स्वप्नशिल हुनुपर्दछ |
-    भौतिक संरचनाहरु बनाउँदा Energy Point (Vibrating Point) हरुको अवस्थितिको विचार गर्नुपर्दछ, जहाँबाट उर्जाको अनुभव गर्न सकियोस |

NEATalk को मुख्य विषय “सकारात्मक सोच (Positive Thinking)” को वारेमा उहाँले अत्यन्त उत्साहप्रद, हौसलापूर्ण र सारगर्भित विचारहरु राख्नु भयो |: 

-    कुनैपनि विषयमा धारणा बनाउँदा बहुआयामिक दृष्टिकोणबाट अध्ययन गर्नुपर्दछ | (3D picture of Understanding, or Multidimensional “Art of Understanding”)
-    बारम्बार स्वमुल्यांकन (Frequent self evaluation) हुनुपर्दछ |
-    भगवानले हरेक मान्छे भित्र एक विशिष्ट गुण दिएको हुन्छ |
-    राम्रोसंग नेपाली बोल्न नजान्ने नेवारको छोराले लेखेको किताब (“सोच”) कसरी नेपालमा सबैभन्दा छिटो विक्री हुने किताव (Fastest Selling Book in Nepal) बन्यो ? जीवनको यथार्थ भोगाई, पिडा, संघर्ष र सकारात्मक सोचको प्रभाव होइन ?
-    नाम विनाको मान्छे के मान्छे ? म जीवनमा झिंगा भएर मर्न चाहन्न | जति दिन बाँच्छु अर्थपूर्ण जीवन बाँच्छु | कमसेकम मरेको दिन हजार जना मलामीहरु हुन् | म मरेर पनि बाँच्न चाहन्छु |
-    माओवादी द्वन्दको समय : एकातिर अँध्यारो, कालो, डरलाग्दो थियो, रोधन थियो, मरेका लासहरु थिए, अर्कोतिर लालुपातेहरु फुलिरहेका थिए, लालीगुराँसहरु फुलिरहेका थिए, नदि थिए, नाला थिए, सुन्दर पहाडहरु थिए, हिमाल थिए | सोचें, उ बेलामा एउटा अम्बा खान संघर्ष गर्नुपर्थ्यो अहिले स्ट्रबेरी देखि अनेक थरि फलफूलहरु प्रशस्त छन्, पहिले अलिकति पैशा आवश्यक पर्यो कि कति जनाको घर-घर धाउनु पर्थ्यो, अहिले बैंकहरु लाइन लागेर घर घरमा ऋण दिन आएका छन्, आफ्नै समयमा पहिले डाक्टर इन्जिनियर पढ्न चप्रासीको चाकडी गर्नुपर्थ्यो, अहिले शहर भरि कलेजहरु खुलेका छन् | के नेपाल बर्बादै भएकै  हो त? विचार गरें, होइन | अनि मैले निर्णय गरें म विदेश जान्न | नेपालमै व्यवसाय गर्छु |
-    मान्छेलाई दुई प्रकारका घोडाहरुले तानी रहेको हुन्छ, एउटा चेतना र चिन्तनको घोडा, अर्को विकाशको घोडा | चिन्तनको घोडा जहिले पनि एक कदम अगाडी हुन्छ, विकाशको घोडा एक कदम पछी हुन्छ र त्यहि घोडाले तानेर मानिसहरु भौंतारी रहेका हुन्छन् |
-    हामी बुद्दिजिबिहरु २ प्रतिशत भन्दा कम जनसंख्या भित्र पर्दछौं, अर्को तिर ९८ प्रतिशत छ, जहाँ किसानहरु छन्, गाउँलेहरु छन्, देश उनीहरुकै कारणले चली राखेको छ, केहि भएको छ भने उनीहरुकै कारणले भईराखेको छ | म त्यहि ९८ प्रतिशत मान्छेहरुको लागि सम्बोधन गर्न चाहन्छु |
-    समय र पैशाको अत्यन्त महत्व हुन्छ, सम्मान र सदुपयोग गर्नु पर्दछ | सरस्वतीबाट सिर्जना हुन्छ, सिर्जनाको लागि समय चाहिन्छ | समयको बर्बाद भनेको सरस्वतीको अपहेलना गर्नु हो | पसिना बगाएर  पैशाको आम्दानी हुन्छ, लक्ष्मी आर्जन हुन्छ,  पैशा यस्तो चिजमा खर्च होस् जुन चिजको कुनै मूल्य होस् कुनै मान्यता होस् | पैशाको जथाभावी खर्च भनेको लक्ष्मीको अपहेलना हो |  हामी व्यवसायीहरुले सरस्वती र लक्ष्मीको सदैव मान गर्नुपर्दछ |
-    मान्छेको २ वटा आँखा अगाडी हुन्छ जसले अगाडिको भौतिक चिजहरु मात्र देख्दछ, त्यस्तै  २ वटा आँखा पछाडी हुन्छ जसले सबै चिजहरु देख्दछ |
-    जीवनलाई सललल बगाउने प्रक्रिया भनेको सकारात्मक सोच हो |
-    समस्या विहिन जीवन त ख्याल ख्यालको जीवन हो | समस्याले उपाय जन्माउछ | समाधान जन्माउछ |
-    सपना (Dream), प्रतिज्ञा (Commitment) र लगाव (dedication) हुनुपर्छ, परिवर्तन (Change) गर्न सकिन्छ |     
-    मनले चाहेको काम गर्नुपर्दछ, समयको बन्धक भएर बाँच्न गार्हो हुन्छ |
-    सुखको अनुभव गर्न दुख भोगेकै हुनुपर्दछ |
-    “सोच” किताव पढेर लगभग १६०० जति मान्छेहरु स्वदेश फर्किएर व्यवसाय गर्न थालेका छन् भन्ने सुनेको छु |           
-    जीवनमा मौरी (Bee) जस्तो भएर बाँच्नुपर्दछ | मौरीले आफुपनि खान्छ अरुलाई पनि खुवाउँछ, धेरै चाहार्छ तर जहाँ गएपनि आफ्नै घर फर्कन्छ, जुनै फुलबाट रस चुसेपनि  फुललाई बिगार्दैन, मरेपछि मैन (wax)  बन्छ |

विदेशमा बस्ने नेपालीहरुलाई कर्ण शाक्य यसरी केहि अनुरोध गर्नुहुन्छ :
-    हाफ पाइन्ट लगाएर ढल्किदै हिंडेको, चिल्लो कारको अगाडी पछाडी बसेको, चिल्ला सडक र गगनचुम्बी घरहरुलाई दायाँबायाँ पारेर खिचेका फोटोहरुले मात्र सामाजिक संजाल नभर्नुहोस, विदेशमा बस्दा गरिने संघर्ष र परिश्रमका कहानीहरु पनि राखिदिनोस, हरेक महिना बैंकको किस्ताले दिने पिडा पनि सुनाउनुहोस, अस्पतालको खटाई, सुपरमार्केटको खटाई पनि सुनाउनुहोस, के काम गर्दै हुनुहुन्छ त्यो पनि बताईदिनुहोस, कामको शिलशिलामा हुने मानसिक तनाव र पीडाहरु पनि भनिदिनुहोस, विदेशमा बस्दा घरपरिवार, समाज, रीतिरिवाज, चाडपर्व आदि सामाजिक कुराहरुको कारणले हुने पिडा पनि सुनाउनुहोस, कति समय खट्नु हुन्छ भनिदिनुहोस | सामाजिक संजालमा देखिने तपाईहरुको मोजमस्तीको जीवनशैली (Glamorous lifestyle) को लोभको कारणले नेपालका बस्तीहरु छिन्नभिन्न र उजाड भईसक्यो |    

हाम्रो समाजलाई कर्ण शाक्य जी जस्तै सकारात्मक सोचले अभिप्रेरित कर्मशील “रोल मोडेल”  हरुको खाँचो छ|