Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Thursday, October 25, 2018

म तिमीलाई के भनुँ? जड या चेतना ?



१)
राइनासको चुचुरोमा चढेर
विश्व जित्ने मन भएन भने,
कन्चन चम्पाको जल पिएर
निर्मल हुने तन भएन हने,
म तिमीलाई के भनुँ? जड या चेतना ?







२)
यहाँका फाँटहरुसंगै बयली खेल्दा
तिमिभित्र सम्पूर्णताको आस आएन भने,
यहाँको पवनले झोक्का दिंदा
तिमिभित्र प्रफुल्लता खास आएन भने
म तिमीलाई के भनुँ? जड या चेतना ?






३)
यहाँको संगीतले धुन भर्दा
तिमिभित्र गीत आएन भने,
यहाँका बैंशालु फुलहरुले सुसेल्दा
तिमिभित्र प्रित आएन भने,
म तिमीलाई के भनुँ? जड या चेतना ?






४)
यहाँको पन्छीहरुले गीत गाउँदा
तिमीभित्र नाच आएन भने,
यहाँको धर्ति विचरण गर्दा
तिमिभित्र नयाँ सोच आएन भने,
म तिमीलाई के भनुँ? जड या चेतना ?









5)
यहाँका चौतारीहरुमा विश्राम गर्दा
तिम्रो मन शान्त भएन भने,
यहाँका निर्दोष जनहरुसंग संगत गर्दा
तिम्रो पिडा अन्त भएन भने,
म तिमीलाई के भनुँ? जड या चेतना ?






६)
यहाँका देउरालीहरुमा एकै पल विताउँदा
तिमि भित्र जिन्दगीको रवि आएन भने,
यहाँको सुन्दरता दिल दिमागमा सजाउँदा
तिमिभित्र कुनै कवि आएन भने,
म तिमीलाई के भनुँ? जड या चेतना ?


                     
                                                      --दिनेश चन्द्र पन्थी दीप (२०७५-०६-२७)

राइनासमा साहित्यिक कार्यक्रम सम्पन्न


मिति २०७५/०६/२९, सोमवार राइनास नगरपालिकाको केन्द्र तिनपिप्ले स्थित श्री शिशु विद्याश्रम मा.वि.मा कविता वाचन, दशैं शुभकामना आदानप्रदान साथै राइनास ग्रामिण पर्यटन प्रवर्धन सम्बन्धि विषयहरु सहित साहित्यिक कार्यक्रम सम्पन्न भयो | कवि विजय राज न्यौपानेको सभापतित्वमा संचालित उक्त कार्यक्रमको प्रमुख आतिथिमा गण्डकी प्रदेश सभासद मा. धनन्जय दवाडीले हुनुहुन्थ्यो भने विशेष अतिथिमा मा. मधुमाया अधिकारी, नगरपालिकाका मेयर सिंह बहादुर थापा तथा गण्डकी प्रदेश गाउँ पर्यटन प्रवर्धन मन्चका संस्थापक अध्यक्ष तारानाथ पहारी हुनुहुन्थ्यो | उक्त कार्यक्रममा विजय राज न्यौपाने, प्रेम नारायण घिमिरे, विष्णु कट्टेल, नवराज पौडेल, दिनेश चन्द्र पन्थी, माधव पनेरु, दिपक नेपाली ले आफ्नो कविता तथा गजल प्रस्तुत गर्नुभयो भने राजन पनेरुले लधुकथा प्रस्तुत गर्नुभयो |त्यसै गरि प्रमुख अतिथि सहित अन्य अतिथिहरुले राइनासमा पर्यटन तथा विभिन्न विकाशका पाटाहरुको विश्लेषण गर्दै बडादशैं शुभकामना दिनुभयो |   


राइनास नगरपालिका भित्र छरिएर रहेका साहित्यिक व्यक्तित्वहरुको पहिचान गर्ने तथा भविष्यमा भाषा, साहित्य, कला, संस्कृतिलाई जगेर्ना गर्न पहल गर्ने उदेश्यका साथ पहिलो पटक आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले यसको आवस्यकता तथा विविध पक्षहरुको बारेमा उल्लेख गर्नु भयो | उदघाटन कार्यक्रम पश्चात साहित्यिक समाज गठन सम्बन्धमा भएको छलफलबाट हाललाई राइनास वाङमय प्रतिष्ठान नामको बृहत साहित्यिक प्रतिष्ठान निर्माण गर्ने प्रस्ताव गरिएको छ | यस प्रतिष्ठानले विविध कार्यक्रमहरु सहित २०७५/०९/१५, आइतवार, १३५ औँ लेखनाथ जन्म जयन्ती मनाउने निर्णय गरेको छ | 
  

हाललाई प्रतिष्ठान दर्ता तथा अन्य काम कारवाहीहरु अगि बढाउन निम्न अनुसार ११ सदस्यीय एक तदर्थ समिति गठन गरिएको छ |   

संयोजक :    विजय राज न्यौपाने
सह-संयोजक : मातृका प्रसाद खनाल
सचिव :      दिनेश चन्द्र पन्थी
कोषाध्यक्ष :   नानुमाया पराजुली
सदस्यहरु :   प्रेम नारायण घिमिरे
कृष्ण राज ओलिया
विष्णु प्रसाद कट्टेल
केदार देवकोटा
शिवलाल श्रेष्ठ
नवराज पौडेल
राजन पनेरु

यसका साथै प्रतिष्ठान दर्ताको लागी निम्न बमोजिम बिधान मस्यौदा उप-समिति गठन गर्ने निर्णय गरियो:

संयोजक :    उज्वल खनाल
सदस्यहरु :   दिनेश चन्द्र पन्थी
                       राजन पनेरु




कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धेरै धेरै धन्यवाद दिदैं भविष्यमा यस प्रतिष्ठानका गतिबिधिहरुलाई बढावा र निरन्तरता दिन यहाँहरुको सुझाब तथा सहयोगको अपेक्षा गरिन्छ |

Tuesday, July 10, 2018

"डा. देवकोटा फेरि फेरी पनि नेपाली भएर जन्मिरहुन्"

डा. उपेन्द्र देवकोटाको अन्त्यष्टिमा सहभागी हुने इच्छा हुँदाहुदैँ पुरा हुन सकेन, सायद उनलाई सम्झंदा मलाई धेरै पछिसम्म त्यहि खड्किरहने छ | मरण जीवनको सबैभन्दा अकाट्य सत्य हो भनेर बुझ्दाबुज्दै पनि सहज स्वीकारोक्ति प्राय कसैलाई पनि नहुने रहेछ | डा. देवकोटाको मृत्यु प्रसङ्ग, अन्तिम दिनहरुमा गरेका गतिविधिहरु, सक्रिय व्यवसायिक जीवनकालमा गरेका योगदान र अन्तिम समयमा उनले दिन खोजेको सन्देशलाई लिएर दिमागमा केहि कुराहरु खेल्यो |

स्वदेशमा मृत्युवरणको इच्छा हुनु, आई. सि. यु. को बेडबाट गाउँमा जाने रहर जाग्नु, पुर्ख्यौली घरको पिंडीमा अन्तिम समय बिताउने रहर लाग्नु, सिस्नेपानी धाराको चिसोपानीले मृत्युसँग खेलिरहेको शरीरलाई सिंचित गर्ने इच्छा हुनु डा. देवकोटाको केवल लोकलाई देखाउन थिएन; अन्तर्मनको अगाध राष्ट्रप्रेम र मातृभूमिप्रतिको कदरवोध थियो भन्ने मलाई लाग्छ | धेरै पहिले पाठ्यक्रममा पढेको बालकृष्ण समको “इच्छा” कविता जबरजस्त दिमागमा आयो | सायद देवकोटाको अन्तरवोधले यहि इच्छा गरेको थियो, “संसार देखें तर म तिम्रै काखमा समर्पित हुन आएँ, यो भन्दा ठुलो वात्सल्यप्रेम मैले कहिँ कतै भेटिन, सप्रेम मलाई तिम्रो काखमा विश्राम गर्न देउ|”       
इच्छा यो छ महेश अन्तिम जसै यो मृत्यु शैय्या जलि |
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छटपटी ||
त्यै बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल |
जे जेमा हिम शैलको छ मधुरो मिठो चिसो चुम्बन ||

मलाई डा. देवकोटाले मृत्युवोध गर्दै प्राण त्याग गर्ने अवसर प्राप्त गरे, उनको इच्छामरण भयो भन्ने लाग्छ जुन कुरा वैदिक दर्शन अनुसार बुद्ध पुरुषहरुलाई मात्र प्राप्त हुने गर्दछ | सायद उनले यस्तै पल कुरेर बसेको हुनुपर्छ:
बज्ला मन्दिरमा तथास्तु जब यो घण्टा दिंदै उत्तर |
हाँस्दै शान्त भै उही समयमा नेपाल हेरी मरुँ ||

परम्परागत पोसाक दौरा सुरुवाल, ढाका टोपी देवकोटाले त्यसै ढोंग पार्नमात्र लगाउने इच्छा गरे होलान् भनेर म सोच्न पनि सक्दिन | देवकोटालाई परलोकमा पनि नेपाली हुनुको सहज परिचय दिनु थियो सायद उनको मृत्यु भेषले यहि संदेश दिईरहेको थियो :
पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा |
नेपालीहरु छन् मरिकन सबै जन्मिरहेका जहाँ ||

यस लोकमा मृत्य आजसम्म कसैले टार्न सकेको छैन | कवि शिरोमणि लेखनाथ पौडेलको ब्रह्मले देखेजस्तै सायद देवकोटाको भौतिक शरीरले काम गर्न छोड्दा ईश्वर आफैँ दुखित भएको हुनुपर्छ |     
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।।


एक सामान्य मान्छेले गर्न सक्ने भन्दा धेरै योगदान गरे डा. देवकोटाले | उनको जीवन परिमाणमा  भन्दापनि परिणाममुखी भयो भन्ने लाग्छ | आफ्नो व्यवसायिक जीवनमा लगभग चौंतिस हजार मानिसहरुको प्रत्यक्ष शल्यक्रिया गरे, करिव सात लाख मानिसहरुको उपचार गरे, आफ्नै पसिनामा विशेषज्ञ सेवा सहितको स्नायु अस्पताल स्थापना गरे, सयौंको संख्यामा स्नायु विशेषज्ञ उत्पादन गरे | सबैभन्दा ठुलो कुरा त अन्तर्राष्ट्रिय स्तरको ज्ञान, शिप र उपाधि हुँदाहुँदै बर्षौंबर्ष सर्वसाधारण नेपालीहरुको सेवामा जुटीरहे जेठो सरकारी अस्पताल मार्फत | आफ्नो व्यवसायिक जीवन बाहेक उनि भित्र समाज सुधारको तीव्र चाहना थियो, नेपाल बन्नु पर्छ भन्ने गहिरो चिन्तन थियो जसको कारणले बेला बेलामा उनीबाट राजनीतिक स्वरपनि सुनिने गर्दथ्यो | त्यहि मानवीय अन्तर संवेदना र उत्कण्ठाले उनलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारीसम्म पुर्यायो | देवकोटाले आफ्नो माटो पुरै बिर्सिएर विशेषज्ञता बेचिरहेका उच्च शिक्षित भनाउँदा हजारौं नेपालीहरुलाई एक गतिलो पाठ पढाए | हो, नेपालमा असुविधाहरु धेरै छन्, आधारभूत विषयहरुमा पनि थुप्रै समस्याहरु छन्, कतिपय सामाजिक सोचहरुले पनि प्रसस्त पिडाहरु दिने गर्छन, कहिले काहीं गहिरो निरासाहरु पनि हुने गर्छ तर डा. देवकोटाको अन्तरबोधले यो भन्दा भू-स्वर्ग सायदै देखेन, मातृभूमिको सेवाले दिने तृप्ति अन्त भेटेनन् | आधारभूत प्रकृति सबैतिर उस्तै हो भने मान्छेले गरेर हुने काम त यहाँपनि त गर्न सकिन्छ होला | कहींकतै बाट कसैले शुरुवात त गर्नै पर्छ | त्यसको इमान्दार प्रयास आफ्नो ठाउँबाट डा.देवकोटाले गरे भन्ने मलाई लाग्छ | म बुझ्दछु, विदेशमा रोजगारीको शिलशिलामा जानु धेरैको वाध्यता छ, विश्वव्यापीकरणको समयमा आफ्नो विशेषज्ञता अनुसारको काम जहाँपनि गर्न सकिन्छ, गर्नुपनि पर्छ तर आफ्नो संस्कार बिर्सेर होइन, नेपालीत्व छोडेर होइन बरु नेपालसंग जोडिएर, जिम्मेवारी वोध गरेर |

ईज्जत, नाम र दाम कमाएपछी अवकाश प्राप्त जीवन नै भएपनि नेपालमै व्यतित गर्ने, आफुले जीवन भरि सिकेको ज्ञान, अनुभव यहीं बाड्ने र कमसेकम देवकोटाको जस्तै मृत्युवरण नेपाली भुमिमा गर्ने चाहना धेरै स्थायी रुपले नेपाल बाहिर बस्ने नेपालीमा उब्जियो भनेपनि तिनका पुस्ताले मातृभूमिको महत्व बुज्नेछन् | देवकोटा कै प्रसङ्गलाई हेर्दा एक- दुई जना मात्रले त त्यति फरक पार्न सक्ने रहेछन भने संसारभरि रहेका यस्तै विज्ञ नेपालीहरुले अलिकति पनि यस्तै सोच बनाउन सके कति राम्रो होला !

हुन त हाम्रो संस्कारमा राम्रो कामना गर्नुपर्दा जन्ममृत्यको बन्धनबाट सदाको लागि मुक्तिको कामना गरिन्छ तर म चाहन्छु डा. देवकोटा फेरि फेरी पनि नेपाली भएर जन्मिरहुन्, उनि जस्ता सपुत देशलाई बारम्बार चाहिने छ | कवि मोहनहिमांशु थापाले भने जस्तै देवकोटाको मागपनि पक्कै यहि थियो :
मलाई सगरमाथाको देश चाहिन्छ, म आफ्नै देशमा रम्न चाहन्छु,
मलाई छहराको देश चाहिन्छ, पहराको देश चाहिन्छ ।
------------------------------------------------------------------------------------------------------

                                                       - दिनेश चन्द्र पन्थी
                                                      २०७५-०३-२६ 

Friday, February 16, 2018

राइनासमा एक प्राविधिक शिक्षालय

         गतवर्ष अध्ययनको शिलशिलामा छिमेकी मित्रराष्ट्र चीनमा हुँदा  एक कार्यक्रममा क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयमा वरिष्ठ पाठ्यक्रमविदको रुपमा लामो समयदेखि कार्यरत एकजना चिनियाँ प्राध्यापकसंग अन्तरक्रिया गर्ने मौका मिल्यो | सन् १९५०-६० को दशक तिरको चिनियाँ शिक्षानीतिको वारेमा उहाँले केहि रोचक प्रसंगहरु राख्नुभयो | उहाँको अनुसार तत्कालिन चिन सरकारले प्राविधिक र शिपमुलक शिक्षालाई उच्च महत्व दिई त्यहि अनुरुप शैक्षिक पूर्वाधार निर्माण गर्दै उच्चशिक्षा अध्ययन गर्ने लगभग ९५ प्रतिशत विद्यार्थीहरुलाई प्राबिधिक शिक्षातर्फ अभिप्रेरित गर्ने गर्दथ्यो | त्यतिबेला आर्थिक हिसाबले चिन अविकशित र गरिव मुलुकहरु मध्ये पर्दथ्यो | एक अल्पविकशित देशले प्राविधिक र हातमा शिप भएका प्रयाप्त जनशक्ति उत्पादन नगरेसम्म देश अगाडी बढ्न सक्दैन भन्ने विश्लेषण नै उक्त शिक्षानीतिको आधार मान्न सकिन्छ | चिनमा त्यो क्रम त्यसपछीका ३-४ दशकसम्म चलिरह्यो | आज चिनको अभुतपुर्व  विकाशको विविध आधारहरु मध्ये प्राविधिक र हातमा अनेकन शिप भएका प्रयाप्त जनशक्ति हुनु एक महत्वपूर्ण आधार हो भन्ने ठम्याई उक्त प्राध्यापकको थियो | हामि जस्ता कम विकशित मुलुकहरुबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरुलाई विकाशको पहिलो चरणमा राज्यले प्राविधिक र शिपमुलक शिक्षामा प्रसस्त लगानी गर्नु पर्दछ भन्ने उहाँको अभिप्राय थियो |  चिनको मात्र होइन विकाशको प्रारम्भिक चरणमा हुँदा प्राय सबै देशहरुले उस्तै उस्तै खालको शिक्षानीति लिएको देखिन्छ |

         नेपालको वर्तमान अवस्थालाई विचार गर्दा स्थानीय, प्रदेश र केन्द्रको चुनाव पश्चात नयाँ संबिधानको संस्थागत स्वीकार्यता संगै राजनीतिक एजेन्डाहरु विस्तारै किनारा लाग्न थालेको  र आर्थिक विकाशको आम आकांक्षाहरु सल्बलाई रहेको प्रस्ट बुज्न सकिन्छ | युवा वर्गमा स्वरोजगारको भावना र देशव्यापी उद्यमशीलता अंकुराउन खोज्नु अत्यन्त सुखद पक्ष हो | यस्तो समयमा राज्यले स्थानीय स्तर देखि नै प्राबिधिक र शिपमुलक शिक्षामा प्रसस्त लगानी गर्नुपर्दछ| खास गरि छिमेकी मित्रराष्ट्र चिनमा जस्तै बिभिन्न तहको प्रयाप्त प्राविधिक जनशक्ति उत्पादन गर्ने उदेश्य राखी सरकारले एक नगरपालिका वा गाउँपालिकामा निजि वा सरकारी स्तरको एक प्राविधिक शिक्षालयको अवधारणा अनुसार काम गर्न उत्तम हुन्छ |   

        राष्ट्रिय स्तरमा निजि वा सरकारी क्षेत्रबाट प्राविधिक उच्च शिक्षामा केहि लगानीहरु देखिएपनि प्रयाप्त नभएको र कति त धेरै जनताको पहुँच भन्दा बाहिर पनि छ | हाललाई स्थानीय स्तरमा उच्चशिक्षा भन्दापनि आम जनताको पहुँच भित्र पर्ने गरि तत्काल रोजगारी सिर्जना गर्ने खालको स्थानीय आबस्यकता अनुसारको  शिपमुलक र अर्धदक्ष प्राविधिक जनशक्ति जस्तै: ओभरसियर, सब-ओभरसियर, जेटी, जेटीए उत्पादन गर्ने खालको डिप्लोमा स्तरको प्राविधिक कलेजहरु सिटिईभिटिबाट सम्बन्धन लिई संचालन गर्न राज्य स्वयंले वा निजि क्षेत्रलाई प्रोत्साहित गर्न अत्याबस्यक देखिन्छ | हातमा शिप र प्राविधिक ज्ञान नहुँदा विभिन्न रोजगारीको अवसर गुमाई रहेको, स्वरोजगार पनि हुन नसकेको र वैदेशिक रोजगारीमा जाने धरै युवाहरुले अनेक हण्डर खाएको प्रसस्त उदाहरणहरु छन् | 
           
        राइनास नगरपालिका सहित वरिपरीका गाउँ, नगरको सन्दर्भ जोड्ने हो भने अधिकांश युवाहरु रोजगारीको शिलशिलामा विदेश गएका तथा यहिँ हुने युवाहरु मध्ये अक्सर बेरोजगार र केहि त कुलतमा पनि फस्न थालेको देखिन्छ | सामान्य शिप, ज्ञान र सोच मात्र हुने हो भने पनि नगरोन्मुख अवस्थामा रहेको राइनास नगरपालिका भित्र स्वरोजगार हुन सक्ने धेरै क्षेत्रहरु देखिन्छ | बिशेषगरि भूकम्पपछी भवननिर्माणको काममा तिब्रता हुदै गएको छ जसले गर्दा भवननिर्माण सम्बन्धि डकर्मी, सिकर्मी, प्लम्बर, इलेक्ट्रीसियन तथा निर्माण सुपरभिजन सम्बन्धि ओभरसियर, सव-ओभरसियर, त्यस्तै गरि सवारीसाधनको चहलपहल बढ्दै गरेकोले अटोमेकानिक्स तथा कृषि पशुपालनको क्षेत्रमा केहि व्यवसायिक सोचको विजारोपण हुन थालेकोले जेटी, जेटिए, भेटेरनरी सम्बन्धि कार्यहरुको लागी विविध मौकाहरु सिर्जना हुदैं गरेको छ | लगभग ७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र भौगोलिक हिसाबले सुलभ पहुँच भएको राइनास नगरपालिकामा विविध मौकाहरु सिर्जना हुदैँगर्दा पनि व्यबसायिक सोच र शिपको अभावले गर्दा सयकडौं युवाहरु अत्यन्त निम्न स्तरको काम खोज्दै विदेश भौंतारिन वाध्य छन् | विगतमा गरिएको एक अध्ययनबाट नगरउन्मुख हुदाँहुँदै पनि राइनास नगरपालिकामा लगभग ०.८४ प्रतिसतका हिसाबले जनसंख्या घटिरहेको देखिन्छ | उपयुक्त खालको शिप विकास गर्ने तथा अर्धदक्ष्य प्राविधिक जनशक्ति उत्पादन गर्ने एक प्राविधिक शिक्षालय यस नगरपालिका भित्र स्थापना गर्न सके उक्त प्रवृत्ति रोक्न सहयोग पुग्ने, नयाँ रोजगारीका अवसरहरु खोज हुने तथा छिमेकी गाउँहरुबाट यहाँ बसाइँसराई बढ्न सक्ने देखिन्छ | राइनासमा हालको जनसंख्या, साधन, श्रोत तथा छिमेकी गाउँहरुको वस्तुस्थिति हेर्ने हो भने एकैचोटी ठुलो लगानीमा त्यस्तो कलेज खोल्ने भन्दापनि पहिलो चरणमा सिटीइभिटीबाट सम्बन्धन लिई विविध सिप विकास गर्ने, स्थानीय सीपलाई केहि प्रयोगात्मक परिक्षाहरु द्वारा प्रमाणीकरण गर्ने र सव-ओभरसियर सम्मको प्राविधिक शिक्षालयबाट शुरु गरि निकट भविस्यमा सिभिल, इलेक्ट्रीकल, अटोमेकानिकल जस्ता विषयहरुको ओभरसियर सम्म पढाई हुने कलेज स्थापना गर्न सकिन्छ | 

       विभिन्न मोडालिटीहरुमा उक्त खालको कलेज संचालन गर्न सकिन्छ | प्रथमत, नगरपालिका कै अग्रसरतामा गैरनाफामुलक सामुदायिक प्राविधिक शिक्षालय स्थापना गरि सकेसम्म कम शुल्कमा सर्वसाधारणहरुको सजिलो पहुँच हुनेगरि संचालन गर्न सकिन्छ | यस मोडालिटी अन्तर्गत भक्तपुर नगरपालिकाको अनुभवबाट सिक्दै उनीहरुकै तहमा गर्न नसकेपनि प्रयाप्त पाठ लिन  सकिन्छ | यध्यपी  नगरपालीकाको तर्फबाट गर्दा व्यबस्थापकीय उल्झनहरु धेरै आउन सक्दछ | दोश्रो, नगरपालिकाको अग्रसरतामा इच्छुक स्थानीय व्यक्तिहरुलाई समावेश गरि नाफामुलक हिसाबमा तर स्थानीय स्तरको पहुँचभित्र पर्ने गरि सार्वजनिक निजि अवधारणा अनुसार पनि उक्त शिक्षालय संचालन गर्न सकिन्छ | नगरपालिकाको साथसाथै स्थानीयहरुमा पनि दायित्व बाँडफांड हुने हुँदा अपनत्व पनि बढ्ने र व्यबस्थापनमा पनि सहज पर्ने हुनसक्छ | तेश्रो, नगरपालिकाले निजि क्षेत्रको लगानीलाई प्रोत्साहित गरि यस्तो खालको शिक्षालय संचालन गर्न सकिन्छ | यस मोडालिटीमा नगरपालिकालाई कुनैपनि खालको व्यवस्थापकीय र आर्थिक दायित्व पर्दैन तर कलेज संचालनको समयमा पर्नसक्ने विविध समस्याहरुलाई समाधान गर्न नगरपालिका सहयोगी तथा आवश्यक पर्दा उत्प्रेरक पनि हुनुपर्दछ | छिमेकी पालुनटार नगरपालिकामा गत वर्षदेखि सिटिईभिटिको आफ्नै पहलमा आंगिक प्राविधिक शिक्षालय संचालनमा ल्याईसकेकोले राइनासमा संचालन गर्दा विषयहरु र क्षमताको वारेमा राम्रोसंग अध्ययन हुनु जरुरि छ | 
          
-ई. दिनेश चन्द्र पन्थी
राइनास-२, लम्जुङ
पुर्व उप-महासचिव, नेपाल इन्जिनियर्स एशोसियसन
dineshpanthy@gmail.com