Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Saturday, September 5, 2020

आजको आवश्यकताः"व्यावसायिक तथा प्रावाधिक शिक्षा"

 


      विशेष वा विशिष्ट ज्ञान सीप प्राप्त हुने शिक्षा भनेको व्यावसायिक तथा प्राविधिक शिक्षा हो। यो उत्पादनमूखी, रोजगारमूखी र गरीखानको लागि स्वाबलम्बी र आत्मनिर्भर भई जीवनोपयोगी सीपमूलक बनाउने शिक्षा हो। भविष्यको जीवनसँग सम्बद्ध भई कामको लागि सिकाइ (Learning to do) प्राप्त हुने शिक्षा हो। व्यावसायिक कार्यकुशलता अभिवृधि गर्दै शैक्षिक उत्पादनलाई व्यवहारिक जीवनोपयोगी र श्रम बजारसँग सम्बन्धित शिक्षा हो। व्यावसायिक तथा प्राविधिक शिक्षाले व्यक्तिलाई "बोली खाने भन्दा गरी खाने" बनाउँदछ। शिक्षा विकासको आधार हो भने व्यावसायिक तथा प्राविधिक शिक्षा विकासको मूल आधार हो। कोभिड-१९( कोरोना भाइरस)को सङ्क्रमण दिन प्रति दिन बढ्दै गएकोले विश्वका अधिकाशं मूलुकहरु आर्थिक मन्दिबाट गुज्रिरहेको अवस्था सर्वविदित नै छ। जसको प्रत्यक्ष प्रभाव हाम्रो मूलुकमा पनि परेको छ। यस्तो कोरोना समयकाल चलिरहेको अवस्थाले गर्दा व्यावसायिक तथा प्राविधिक शिक्षा व्यक्तिको आवश्यकता, चाहना, उपलब्ध स्रोत साधन र आर्थिक क्षमताको आधारमा प्रदान गर्नु महत्त्वपूर्ण कार्य देखिन्छ। त्यसैले सिपयुक्त नेपाल, समृद्ध जनता र व्यावसायिक तथा प्रविधिक मुखी शिक्षामा विशेष जोड दिनु आजको आवश्यकता हो।

 

आवश्यकता किन ?

 १ रोजगार उन्मूख शिक्षा र सीपमूलक व्यावसायिक तालिम लिई स्वालम्बी, आत्मनिर्भर भई गुणस्तरिय जीवनयापन गर्न।

 २ सीपको अधिकतम सदुपयोग गरी उद्यमशील नागरिक बनी स्वरोजगार भई अन्य बेरोजगार व्यक्तिहरुलाई समेत रोजगारी दिन।

 ३ साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलवमानमा रोजगार एवम् स्वरोजगार भई आयस्तरमा वृद्धि एवम् गुणस्तरिय सहज तरीकाले जीवनयापन गर्नमा सहयोग पुग्ने भएकोले।

 ४ कुशल, दक्ष र सीपयुक्त जनशक्तिको रोजगार दर ७०% भन्दा माथि रहेकोले।

 ५ कोरोना भाइरस( कोभिड-१९)का कारण देखा परेका बेरोजगारी र आर्थिक मन्दिलाई न्यूनिकरण गर्न।

 ६ वैदेशिक रोजगार बजार हेर्दा सीपयुक्त मध्यमस्तरीय जनशक्ति जस्तै इलेक्ट्रिकल, पलम्बिङ, कार्पेन्टर, सटरिङ सिभिल, मेकानिकल ओभरसियर, कुकिङ्ग-बेकिङ्ग, हाउस किपिङ्ग, डकर्मी, कम्प्युटर अपरेटर, ड्राइभर, ब्यूटिसियन, गार्डेनर, फोटोग्राफर, नर्सिङ्ग र सिकर्मी लगायत आदि जस्ता पेशाको तलवमान सधारण श्रमिकको तुलनामा तीन गुणा भन्दा बढी पाइएको।

 

व्यावसायिक तथा प्राविधिक शिक्षामा देखिएका समस्याहरु

 १ संरचनागत समस्या

 २ नीतिगत समस्या

 ३ पाठ्यक्रमगत समस्या

 ४ जनशक्तिगत समस्या

 ५ कार्यक्रम तथा कार्यान्वयनगत समस्या

 ६ श्रमवजारका समस्या

 ७ प्रमाणीकरण समस्या

 ८ लागत तथा स्रोतगत समस्या

 ९ अनूगमन तथा मूल्याँङ्कन समस्या

 १० अनुसन्धानगत समस्या

 

 सुधारका उपायहरु

 १ सिपयुक्त नेपाल, समृद्ध जनता र दीर्घकालीन व्यावसायमूलक दक्ष कुशल सक्षम जनशक्ति उत्पादनमा विशेष जोड दिनुपर्ने।

 २ सघं, प्रदेश र स्थानीय आवश्यकता र मागको आधारमा प्रविधिमूलक र व्यावसायमूलक पाठ्यक्रमको छनौट, कार्यक्रम निर्माण तथा प्रभावकारी कार्यन्वयन गर्नुपर्दछ।

 ३ व्यावसायिक तथा प्राविधिक शिक्षा र तालिममा समन्यायिक पहुँच, प्रणालीमा सुधार, समयसापेक्षता, व्यवस्थापनमा प्रभावकारिता, जीवनोपयोगी, जनतामैत्री उत्पादनमुखी, स्थायी र भरपर्दो, टिक्ने र बिक्ने खालको, प्रतिस्पर्धि हुने खालको परिणाममुखी, सहज तरीकाले रोजगारी पाउने खालको, गुणस्तरिय तथा उपलब्धीमूलक एवम् दक्षतापूर्ण अभिवृधि गर्ने।

 ४ आर्थिक रुपमा सक्षमले आफै शुल्क तिरेर पढ्ने तथा गरीब एवम् पिछडिएको वर्गकालागि सरकारले छात्रवृति वा शैक्षिक ऋण उपलब्ध गराउन वित्तिय संस्थाहरुको परिचालन गर्ने र पछि भविष्यमा रोजगारी भई आय आर्जन गरेपछि तिर्न पाउने व्यवस्था मिलाउने।

 ५ कोभिड-१९( कोरोना भाइरस)को कारण देखिएका समस्या समाधान गर्न स्थानीय ग्रामीण क्षेत्रमा मौरीपालन, बेमौसमी तरकारी खेती, च्याउ खेती, फलफुल उत्पादन, नर्सरी, पशुपालन, व्यावसायिक खेती, परम्परागत रुपमा सञ्चालन भएका उद्योग धन्दालाई पुनः सञ्चालन, जडीबुटी उत्पादन, उपलब्ध स्थानीय स्रोत र साधनलाई अधिकतम परिचालन गर्न योग्य सक्षम कुशल व्यावसायमूलक जनशक्ति उत्पादन गरी प्रभावकारी कार्यन्वयन।

 ६ स्थापना भएका संस्थाहरुलाई स्थायित्व तथा निरन्तरता दिने।

 ७ व्यावसायिक तथा प्राविधिक जनशक्ति उत्पादन कार्य गरीबी निवारण र राष्ट्रिय आर्थिक समुन्नतिको लागि महत्त्वपूर्ण क्षेत्र भएकोले सरकारले लागत साझेदारी नीति अवलम्बन गरी स्थानीय निकायका स्रोत साधनहरुको उच्चतम परिचालन गर्ने।

 ८ कोभिड-१९( कोरोना भाइरस)का कारण वाहय मूलुकबाट फर्केका हाम्रा दाजु तथा दिदीबहिनीहरुको क्षमता, अवस्था पहिचान गरी रोजगारको लागि स्थानीय स्वदेशी कार्यक्रम निर्माण गरी आत्मनिर्भर नेपाल बनाउने।

 ९ आय आर्जन गर्ने खालको क्रियाकलापको माध्यमबाट आत्मनिर्भर हुनको निम्ति संस्थागत क्षमतामा अभिवृर्द्धि गर्ने।

 १० व्यावसायिक तथा प्राविधिक शिक्षा र तालिममा उच्च पहुँच बढाउन र सबै क्षेत्रमा रोजगार विस्तारको लागि आवश्यकतामा आधारित परामर्श र रोजगार ( Counseling placement) सेवाहरुद्वारा सहजीकरण गर्ने।

 ११ प्रयाप्त वजेटको व्यवस्था गर्नु पर्ने।

 

निष्कर्ष

      सामाजिक विकास तथा आर्थिक उन्नतिको लागि मानविय क्षमता र व्यावसायिक तथा प्राविधिक सीपको विकास एवम् विस्तार हुनु एकदमै आवश्यक छ। विश्वयापी रुपमा फैलिदै गएको कोभिड-१९( कोरोना भाइरस)ले गर्दा विश्वका अधिकाशं मूलुकमा आर्थिक मन्दि भई रोजगारका अवसरहरु कम हुँदै गएको कुरा सर्वविदित नै छ। जसको प्रभाव हाम्रो मूलुकमा पनि परेको छ। हामी सानो छँदा गाउँमा परम्परागत रुपमा चलेका उद्योग धन्दा अन्तरर्गतः कपडा उत्पादान, कम्बल( blanket)को उत्पादन, स्वेटर निर्माण, माटाका विभिन्न किसिमका भाडा कुडा निर्माण, बाँसबाट विभिन्न किसिमका सामग्रीहरु निर्माण र बिरामी हुँदा आयुर्वेदिक बिरुवाहरु औषधीका लागि गाउँमा प्रशस्त पाइन्थ्यो। जुन पछि राम्रो समय सापेक्ष बजार भाउ नपाएर र वाहय वस्तुहरुको प्रयोग बढे पछि हाल न्युन मात्रामा पाइन्छ। त्यसैले फेरी परम्परागत रुपमा चलेका स्वदेशी स्थानीय वस्तुहरुको उत्पादन र विस्तारमा जोड दिनु पर्ने र व्यावसायिक खेती, आयुर्वेदिक जडीबुटी, आधारभूत प्राविधिक सीप र आधारभूत स्वास्थय सरसफाइ सीप सहितको स्थानीय पाठ्यक्रम निर्माण गरी प्रभावकारी कार्यन्वयनमा विशेष पहलको आवश्यकता देखिन्छ। कोभिड-१९( कोरोना भाइरस)को कारण देखिएका समस्याहरु समाधान गर्न अबको शिक्षामा व्यावसायिक कृषि, स्थानीय स्वदेशी वस्तुहरुको उत्पादन र समय सापेक्ष बिक्रि वितरण, स्वास्थयमुखी एवम् प्रविधिमुखी भई सहज तरीकाले गुणस्तरिय जीवन यापनसँग सम्बन्धित हुनको लागि व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो। "विद्वान प्रशस्यते लोके विद्वान गछति गौरवम्, विद्याया लम्भते सर्व विद्या सर्वत्र पूज्यते" अर्थात् संसारमा जे जति पनि परिवर्तन, खोज र अविष्कारका कार्यहरु  सम्भव भएका छन् ती सिपमूलक विद्वानहरु कै प्रयासले सम्भव भए, यसरी सिपयुक्त विद्वान जनशक्ति उत्पादन गर्ने व्यावसायिक तथा प्राविधिक शिक्षा आफैमा महान् हुँदा कोरोना समयकालमा झन यसको आवश्यकता र महत्त्व बढेको छ।


राजदेव यादव, शाखा अधिकृत, शिक्षा विकास तथा समन्वय इकाई, धनुषा।

राजदेव यादवलाई rajdeoyadav2255@gmail.com मा सम्पर्क गर्नसक्नु हुनेछ |