Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Saturday, June 18, 2016

NEATalk “सकारात्मक सोच (Positive Thinking)” को छोटो सारांश, (Speaker : Karna Sakya, June-17, 2016)

मिति २०७३-०३-०३ (June-17, 2016) मा ने.ई.ए. मा गरिएको NEATalk एक विशेष प्रकारको जीवन शिक्षा (Life Education)  थियो | अनेकौं पिडा र भोगाईबाट खारिएर तयार भएको, सकारात्मक सोचले भरिपुर्ण एक सफल व्यवसायी, वातावरणविद, संरक्षणविद, लेखक तथा समाजसेवीको रुपमा समाजमा आफ्नो विशिष्ट स्थान बनाउन सफल व्यक्तित्व कर्ण शाक्यको यथार्थ जीवनी थियो | एकजना व्यक्तिको सकारात्मक सोच, इमान्दारिता र निरन्तर लगावले मात्र पनि समाजमा कति परिवर्तन र संदेश दिन सक्दोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ कर्ण शाक्यजी |

शुरुमा केहि इन्जिनियरिंङ दर्शनमा केन्द्रित हुँदै स्थानीय कला र सिर्जनालाई उच्च महत्व दिदैं उहाँले भन्नु भयो :
-        हरेक घरको आफ्नै व्यक्तित्व हुन्छ, इन्जिनियरहरु गम्भीर हुनुपर्दछ |
-    पैसाले धेरै कुराहरु किन्न सकिन्छ तर इतिहास तथा पुरातात्विक संरचनाहरु जस्ता कुराहरु किन्न सकिंदैन, आफ्नो कला र संस्कृति प्रति गौरव गर्नुपर्दछ |
-    सिर्जना सपनाबाट जन्मन्छ, सदा स्वप्नशिल हुनुपर्दछ |
-    भौतिक संरचनाहरु बनाउँदा Energy Point (Vibrating Point) हरुको अवस्थितिको विचार गर्नुपर्दछ, जहाँबाट उर्जाको अनुभव गर्न सकियोस |

NEATalk को मुख्य विषय “सकारात्मक सोच (Positive Thinking)” को वारेमा उहाँले अत्यन्त उत्साहप्रद, हौसलापूर्ण र सारगर्भित विचारहरु राख्नु भयो |: 

-    कुनैपनि विषयमा धारणा बनाउँदा बहुआयामिक दृष्टिकोणबाट अध्ययन गर्नुपर्दछ | (3D picture of Understanding, or Multidimensional “Art of Understanding”)
-    बारम्बार स्वमुल्यांकन (Frequent self evaluation) हुनुपर्दछ |
-    भगवानले हरेक मान्छे भित्र एक विशिष्ट गुण दिएको हुन्छ |
-    राम्रोसंग नेपाली बोल्न नजान्ने नेवारको छोराले लेखेको किताब (“सोच”) कसरी नेपालमा सबैभन्दा छिटो विक्री हुने किताव (Fastest Selling Book in Nepal) बन्यो ? जीवनको यथार्थ भोगाई, पिडा, संघर्ष र सकारात्मक सोचको प्रभाव होइन ?
-    नाम विनाको मान्छे के मान्छे ? म जीवनमा झिंगा भएर मर्न चाहन्न | जति दिन बाँच्छु अर्थपूर्ण जीवन बाँच्छु | कमसेकम मरेको दिन हजार जना मलामीहरु हुन् | म मरेर पनि बाँच्न चाहन्छु |
-    माओवादी द्वन्दको समय : एकातिर अँध्यारो, कालो, डरलाग्दो थियो, रोधन थियो, मरेका लासहरु थिए, अर्कोतिर लालुपातेहरु फुलिरहेका थिए, लालीगुराँसहरु फुलिरहेका थिए, नदि थिए, नाला थिए, सुन्दर पहाडहरु थिए, हिमाल थिए | सोचें, उ बेलामा एउटा अम्बा खान संघर्ष गर्नुपर्थ्यो अहिले स्ट्रबेरी देखि अनेक थरि फलफूलहरु प्रशस्त छन्, पहिले अलिकति पैशा आवश्यक पर्यो कि कति जनाको घर-घर धाउनु पर्थ्यो, अहिले बैंकहरु लाइन लागेर घर घरमा ऋण दिन आएका छन्, आफ्नै समयमा पहिले डाक्टर इन्जिनियर पढ्न चप्रासीको चाकडी गर्नुपर्थ्यो, अहिले शहर भरि कलेजहरु खुलेका छन् | के नेपाल बर्बादै भएकै  हो त? विचार गरें, होइन | अनि मैले निर्णय गरें म विदेश जान्न | नेपालमै व्यवसाय गर्छु |
-    मान्छेलाई दुई प्रकारका घोडाहरुले तानी रहेको हुन्छ, एउटा चेतना र चिन्तनको घोडा, अर्को विकाशको घोडा | चिन्तनको घोडा जहिले पनि एक कदम अगाडी हुन्छ, विकाशको घोडा एक कदम पछी हुन्छ र त्यहि घोडाले तानेर मानिसहरु भौंतारी रहेका हुन्छन् |
-    हामी बुद्दिजिबिहरु २ प्रतिशत भन्दा कम जनसंख्या भित्र पर्दछौं, अर्को तिर ९८ प्रतिशत छ, जहाँ किसानहरु छन्, गाउँलेहरु छन्, देश उनीहरुकै कारणले चली राखेको छ, केहि भएको छ भने उनीहरुकै कारणले भईराखेको छ | म त्यहि ९८ प्रतिशत मान्छेहरुको लागि सम्बोधन गर्न चाहन्छु |
-    समय र पैशाको अत्यन्त महत्व हुन्छ, सम्मान र सदुपयोग गर्नु पर्दछ | सरस्वतीबाट सिर्जना हुन्छ, सिर्जनाको लागि समय चाहिन्छ | समयको बर्बाद भनेको सरस्वतीको अपहेलना गर्नु हो | पसिना बगाएर  पैशाको आम्दानी हुन्छ, लक्ष्मी आर्जन हुन्छ,  पैशा यस्तो चिजमा खर्च होस् जुन चिजको कुनै मूल्य होस् कुनै मान्यता होस् | पैशाको जथाभावी खर्च भनेको लक्ष्मीको अपहेलना हो |  हामी व्यवसायीहरुले सरस्वती र लक्ष्मीको सदैव मान गर्नुपर्दछ |
-    मान्छेको २ वटा आँखा अगाडी हुन्छ जसले अगाडिको भौतिक चिजहरु मात्र देख्दछ, त्यस्तै  २ वटा आँखा पछाडी हुन्छ जसले सबै चिजहरु देख्दछ |
-    जीवनलाई सललल बगाउने प्रक्रिया भनेको सकारात्मक सोच हो |
-    समस्या विहिन जीवन त ख्याल ख्यालको जीवन हो | समस्याले उपाय जन्माउछ | समाधान जन्माउछ |
-    सपना (Dream), प्रतिज्ञा (Commitment) र लगाव (dedication) हुनुपर्छ, परिवर्तन (Change) गर्न सकिन्छ |     
-    मनले चाहेको काम गर्नुपर्दछ, समयको बन्धक भएर बाँच्न गार्हो हुन्छ |
-    सुखको अनुभव गर्न दुख भोगेकै हुनुपर्दछ |
-    “सोच” किताव पढेर लगभग १६०० जति मान्छेहरु स्वदेश फर्किएर व्यवसाय गर्न थालेका छन् भन्ने सुनेको छु |           
-    जीवनमा मौरी (Bee) जस्तो भएर बाँच्नुपर्दछ | मौरीले आफुपनि खान्छ अरुलाई पनि खुवाउँछ, धेरै चाहार्छ तर जहाँ गएपनि आफ्नै घर फर्कन्छ, जुनै फुलबाट रस चुसेपनि  फुललाई बिगार्दैन, मरेपछि मैन (wax)  बन्छ |

विदेशमा बस्ने नेपालीहरुलाई कर्ण शाक्य यसरी केहि अनुरोध गर्नुहुन्छ :
-    हाफ पाइन्ट लगाएर ढल्किदै हिंडेको, चिल्लो कारको अगाडी पछाडी बसेको, चिल्ला सडक र गगनचुम्बी घरहरुलाई दायाँबायाँ पारेर खिचेका फोटोहरुले मात्र सामाजिक संजाल नभर्नुहोस, विदेशमा बस्दा गरिने संघर्ष र परिश्रमका कहानीहरु पनि राखिदिनोस, हरेक महिना बैंकको किस्ताले दिने पिडा पनि सुनाउनुहोस, अस्पतालको खटाई, सुपरमार्केटको खटाई पनि सुनाउनुहोस, के काम गर्दै हुनुहुन्छ त्यो पनि बताईदिनुहोस, कामको शिलशिलामा हुने मानसिक तनाव र पीडाहरु पनि भनिदिनुहोस, विदेशमा बस्दा घरपरिवार, समाज, रीतिरिवाज, चाडपर्व आदि सामाजिक कुराहरुको कारणले हुने पिडा पनि सुनाउनुहोस, कति समय खट्नु हुन्छ भनिदिनुहोस | सामाजिक संजालमा देखिने तपाईहरुको मोजमस्तीको जीवनशैली (Glamorous lifestyle) को लोभको कारणले नेपालका बस्तीहरु छिन्नभिन्न र उजाड भईसक्यो |    

हाम्रो समाजलाई कर्ण शाक्य जी जस्तै सकारात्मक सोचले अभिप्रेरित कर्मशील “रोल मोडेल”  हरुको खाँचो छ|   




Thursday, May 19, 2016

राइनास नगरपालिका प्रोफाइल तथा विशेष आर्थिक क्षेत्र (SEZ) विकाश सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

राइनास नगरपालिका, लमजुङको नगर प्रोफाइल तयार गर्ने शिलशिलामा नगरपालिकाको सातबिसे, बजार स्थित मिति २०७३-०२-०१, शनिवार अभिमुखिकरण तथा उक्त क्षेत्रमा कृषिमा आधारित विशेष आर्थिक क्षेत्र (SEZ) विकाशको सम्भावना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | यसको साथै भूकम्प पछी ग्रामिण प्रविधिको भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि पनि प्रस्तुतीकरण भयो | नगरपालिका प्रशासन, स्थानिय अगुवाहरु तथा उक्त क्षेत्रबाट काठमाडौंमा बसोबास गर्ने नागरिकहरुको समन्वयमा सम्पन्न उक्त कार्यक्रमले नगरपालिकाको दीर्घकालिन चरणबद्ध बिकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ |
कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष ई. ध्रुव राज थापाले राइनास क्षेत्रको सम्भावानाहरुका वारेमा धेरै सुने ता पनि प्रत्यक्ष भ्रमण गरि देखेपछी, यो क्षेत्र साच्चिकै विविध सम्भावनायुक्त ठाउं रहेको बताउंदै यस्ता क्षेत्रहरुको नीति निर्माण तहबाट विस्तृत पहिचान गरि चरणबद्ध रुपमा अगी बढ्नुपर्ने विचार राख्नु भयो | त्यस्तै उद्योग मन्त्रालय, विशेष आर्थिक क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक ई. चण्डिका भट्टले विशेष आर्थिक क्षेत्र सम्बन्धि विविध विषयहरु स्पस्ट पार्दै नगरपालिका भित्र त्यस्तो क्षेत्र विकाशको लागि स्थल पहिचान गर्न र आफ्नो तर्फबाट सहयोग गर्ने धारणा राख्नु भयो | कार्यक्रममा नेपाल इन्जिनियरिंग परिषदका उपाध्यक्ष तथा नगर विकास कोषका कार्यकारी ई. बिनोद न्यौपानेले नगरको दीर्घकालीन विकासमा स्थानिय तहबाट शुरु गरिएको प्रयासको सराहाना गर्दै उपयुक्त कार्यक्रममा आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिनुभयो | इन्जिनियिरङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, शहरी विकाश बिभागको संयोजक डा. सुधा श्रेष्ठले व्यवस्थित नगर प्रोफाइल बनाउन विध्यार्थीहरुको अधिकतम उपयोग गर्ने तथा स्थानीयहरूबाट पनि आवश्यक सहयोग हुनुपर्ने कुरा राख्नु भयो | त्यस्तै Habitech Building Technology का वरिष्ठ कन्सुल्टेन्ट ई. इश्वर जोशीले भूकम्पीय सुरक्षालाई मध्यनजर गरि ग्रामिण भेगमा उपयोगी भवन निर्माण प्रबिधिको वारेमा प्रस्तुतीकरण गर्नु भयो | कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजनल कार्यालय लमजुंगका डिभिजन प्रमुख ई. सचिन्द्र कुमार देव तथा जि.वि.स.-DRILP कार्यक्रमका जिल्ला आयोजना प्रमुख ई. मिस्टर अशोक ले पनि आफ्नो धारणा राख्नु भयो |
राइनास क्षेत्रको विविध श्रोत र सम्भावनाहरुको विश्लेषण गर्दै व्यवसायिक कृषि र कृषिजन्य उपजहरु लाई नै केन्द्रविन्दुमा राखी अगी बढ्नु उपयुक्त हुने कुरा धेरै विज्ञहरुले बताउनु भयो | यसअभिमुखीकरण / अन्तरक्रिया कार्यक्रम पश्चात इन्जिनियिरङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, शहरी विकाश बिभाग, स्नातकोत्तर कार्यक्रमका २० जना इन्जिनियर विध्यार्थीहरु राइनास नगरपालिकाको स्थलगत अध्ययनमा लागिसक्नु भएको छ | उहाँहरु हाल नगरपालिकाको सामाजिक, सांस्कृतिक, आर्थिक, वातावरणीय, पर्यटकिय, प्राकृतिक तथा मानवीय श्रोत साधनको संकलन गर्ने कार्यमा कार्यरत हुनुहुन्छ | 
अन्तरक्रिया संयोजन गर्ने स्थानिय वुद्धिजीबी स्वतन्त्र हमाल, नगरपालिका कार्यकारी अधिकृत नुर राज कडरिया, सर्वोदय सेवा आश्रमका संस्थापक कृष्ण राज ओलिया, स्थानिय महिला स्वयंसेवी नरमाया देवकोटा, स्थानिय धर्मेन्द्र कुमार गुरुङ. मात्रिका खनाल, शिव देवकोटा, शौभाग्यदय उच्च मा.वि. का प्राचार्य सहित धेरै व्यक्तिहरुले कार्यक्रमलाई सफल बनाउन विशेष पहल गर्नुभयो 
यस कार्यक्रमलाई समग्र रुपमा व्यवस्थापन गर्ने राइनास नगरपालिका तथा सहयोगी सरकारी निकाय तथा विभिन्न संस्थाहरु संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय, शहरी बिकास मन्त्रालय, उद्योग मन्त्रालय - विशेष आर्थिक क्षेत्र (SEZ) विकास समिति, इन्जिनियिरङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, नेपाल इन्जिनियर्स एशोसियसन, नेपाल शहरी तथा क्षेत्रीय योजनाकार समाज साथै The University of New South Wales, Australia लाई धेरै धेरै धन्यवाद |

Wednesday, May 4, 2016

राइनास नगर प्रोफाइल (Rainas Municipal Profile) तयार गर्ने सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न,

“राइनास नगर : कृषि, पर्यटन, शिक्षा र वातावरण मैत्री शहर”
राइनास नगर प्रोफाइल (Rainas Municipal Profile) तयार गर्ने सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न, ई.अ.सं., पुल्चोक क्याम्पस, २०७३-०१-२२, बुधबार
राईनास नगरपालिकाको नगर प्रोफाइल (Municipal Profile) तयार गर्ने सम्बन्धमा इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक क्याम्पस, शहरी योजना विभागमा सम्बन्धित विज्ञहरु, सरकारी प्रतिनिधिहरु र विद्यार्थीहरुको विचमा अत्यन्त उत्साहप्रद रुपमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | नगरको दिर्घकालिन विकाशमा ध्यान दिनुपर्ने कुराहरु : सडक योजना, भू- उपयोग नीति, कृषि भूमिको संरक्षण, व्यवस्थित सहरी विकाश, पर्यटकीय स्थलहरुको महत्व, सामाजिक आर्थिक अवस्था, जनसंख्याको अवस्था जस्ता विविध महत्वपुर्ण विषयहरुमा ध्यान दिई व्यवस्थित नगर प्रोफाइल बनाउनु पर्ने विषयमा छलफल भयो | विद्यार्थीहरुले फिल्डमा काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, नगर प्रोफाइल बनाउंदा देखाउनु पर्ने परिपक्कता र अध्ययनको दीर्घकालीन असरको बारेमा पनि बहस भयो |
कार्यक्रममा निम्न विज्ञहरुको उपस्थिति तथा प्रस्तुति थियो :
१) प्रा. डा. गोकर्ण बहादुर मोत्रा, क्याम्पस प्रमुख, ई.अ.सं., पुल्चोक क्याम्पस
२) प्रा. डा. सुधा श्रेष्ठ, Co-coordinator, शहरी विकाश विभाग, पुल्चोक क्याम्पस
३) डा. जगदीश चन्द्र पोखरेल, पुर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग, नेपाल सरकार
४) ई. ध्रुव राज थापा, अध्यक्ष, नेपाल इन्जिनियर्स एशोसियसन
५) ई. राम कृष्ण सापकोटा, महानिर्देशक, स्थानिय पूर्वाधार विकाश तथा कृषि सडक विभाग (DoLIDAR)
६) चिरन्जिवि तिम्सिना, उपसचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (MoFALD), नेपाल सरकार
७) ई. सुमन सालिके, सिनियर डिभिजनल इन्जिनियर, सहरी विकास मन्त्रालय (MoUD), नेपाल सरकार
८) संजय उप्रेती, उप प्राध्यापक, शहरी विकाश विभाग, पुल्चोक क्याम्पस
९) अर्जुन कोइराला, सहरी योजनाविद तथा महासचिव, नेपाल क्षेत्रीय तथा सहरी योजनाकार समाज (RUPSON)
१०) लक्ष्मी कान्त पौडेल, सार्वजनिक नीति विज्ञ
११) डिकेन्द्र कंडेल, Social Entrepreneur and Educationist, स्थानिय- राइनास न. पा.
१२) बद्रि भट्ट, समाजशास्त्री र मानवशास्त्री, स्थानिय- राइनास न. पा.,
१३) विजय राज न्यौपाने, कवि, स्थानिय- राइनास न. पा.
१४) प्रेम दवाडी, स्थानिय शासन विज्ञ, स्थानिय- राइनास न. पा.
यस अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम ई.अ.सं., पुल्चोक क्याम्पस, शहरी विकाश विभाग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल इन्जिनियर्स एशोसियसन, स्थानिय पूर्वाधार विकाश तथा कृषि सडक विभाग, नेपाल क्षेत्रीय तथा सहरी योजनाकार समाज, The University of New South Wales, Australia (UNSW) र स्थानिय विज्ञहरुको संयुक्त प्रयासमा सम्पन्न भएको थियो |
२०७३-०१-२५, शनिवार प्रा. डा. सुधा श्रेष्ठको नेतृत्वमा पुल्चोक क्याम्पस, शहरी विकाश विभागका २० जना विध्यार्थीहरु राइनास नगरपालिकाको स्थलगत अध्ययनमा जानु हुनेछ | करिव १० दिन उहाँहरु राइनास नगरपालिकामा बस्नु हुनेछ | भविष्यमा बहुपयोगी तथा महत्वपूर्ण अध्ययन/खोज/आधार सामग्री हुन सक्ने व्यवस्थित नगर प्रोफाइल तयार गर्न सहयोग गरिदिनुहुन स्थानिय प्रसासन, राजनीतिक दल, युवा क्लब, आमा समुह, विभिन्न संस्थाहरु, शिक्षक, वुद्धिजीवी सहित सम्पूर्ण स्थानिय जनताहरुमा हार्दिक अनुरोध गर्दछौं |

Tuesday, January 5, 2016

Can it be a "NEPALESE DREAM”?



By 2020:
Per capita Income (Nominal) USD 2000   :
Settlement of all major political issues, set up of permanent institutions and Heavy investment in Education (Universities & Schools)

By 2025:
Per capita Income (Nominal) USD 3000   :
Heavy Investment in Infrastructure, Hydro, Tourism, Agriculture/Herbal Industry, Exploration of Minerals & Raw Materials

By 2030:
Per Capita Income (Nominal) USD 5000:
Most Attractive Tourist hub, Culture Centers, Spiritual centers   

By 2035:
Per Capita Income (Nominal) USD 7000   :
Safest and Secure world class IT Data Centers, Center for Researchers (Climate Change, Agriculture, Animal Science)

By 2040:
Per Capita Income (Nominal) USD 10000:
World No.1 destination for Health Tourism, Top pharmaceuticals, Top Agriculture / Food processing Industries 

By 2045:
Per Capita Income (Nominal) USD 15000:
World Ranking Universities, Home to World class Academicians, World Famous Study Centers 

By 2050:
Per Capita Income (Nominal) USD 20000:
Most peaceful, Happy, Profound and courteous society of the world

-          --Dinesh Chandra Panthy

Wednesday, December 23, 2015

राइनास नगरपालिका, लम्जुङमा अविस्मरणीय र ऐतिहासिक अन्तरक्रिया सम्पन्न

     नगरपालिका घोषणाको शुरुदेखि नै यस नगरपालिकालाई नेपाल कै सुन्दर र मोडेल नगरपालिकाको रुपमा विकाश गर्दै जाने अभिप्रायले नेपाल सरकारका सम्बन्धित निकायहरु संघिय मामिला तथा स्थानीय विकाश मन्त्रालय, शहरी विकाश मन्त्रालय, सम्बन्धित प्राविधिक पेशागत संस्थाहरु नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल क्षेत्रिय तथा शहरी योजनाकार समाज तथा स्थानीय वुद्दिजिबिहरु, समाजसेवीहरु, राजनीतिक दलहरु, युवा तथा महिला संगठनहरु, उद्यमी व्यवसायीहरु सबैको सहकार्यमा “राइनास नगर : कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री शहर” भन्ने परिकल्पनाका साथ “राइनास नगरपालिकाको दीर्धकालीन एकिकृत नगर विकाश अवधारणा” भन्ने शिर्षकमा मिति २०७२-०९-०४ शनिवारका दिन नगरपालिकाको केन्द्र तिनपिप्लेमा ऐतिहासिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो |
       माननिय सभासद लालबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विज्ञहरु डा. जगदीश चन्द्र पोखरेल (पुर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग, अध्यक्ष, क्षेत्रीय तथा सहरी विकाश समाज नेपाल), संजय उप्रेती (शहरी योजना विद;  उप-प्राध्यापक, इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक क्याम्पस), अर्जुन कोइराला (शहरी योजना विद, महासचिव, क्षेत्रीय तथा सहरी विकाश समाज नेपाल), दीपक श्रेष्ठ (सिनियर डिभिजनल इन्जिनियर, शहरी विकाश तथा भवन निर्माण विभाग, आयोजना प्रमुख, एकीकृत शहरी विकाश योजना, नेपालगंज), डा. ध्रुब बहादुर थापा (वरिस्ठ वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद), राम चन्द्र सेडाई (सामुदायिक तथा पर्या-पर्यटन विज्ञ, रणनैतिक पर्यटन योजनाकार, कार्यकारी निर्देशक- नेपाल वातावरण तथा दीगो पर्यटन विकाश केन्द्र), प्रेम दवाडी (स्थानीय शासन विज्ञ), लक्ष्मीकान्त पौडेल (सार्वजनिक नीति विज्ञ), केशव राज पार्दे, (अधिकृत, संघिय मामिला तथा स्थानीय विकाश मन्त्रालय), त्यस्तै प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु बिष्णु धिताल – नेपाली कांग्रेस, रामचन्द्र भट्ट- ने. क.पा. एमाले, मेख बहादुर भण्डारी – ने.क.पा. माओवादी, सोमराज पन्थी – ऱा.प्र.पा., देवेन्द्र पराजुली – नयाँ शक्ति लगाएत अन्य राजनीतिक दलका प्रतिनिधिहरुको उल्लेखनीय र उत्साहपूर्ण उपस्थिति थियो |
            दुई प्राविधिक सत्रमा सम्पन्न उक्त कार्यक्रममा पहिलो सत्रमा विशेष गरि रास्ट्रिय तथा क्षेत्रिय दृष्टिकोणबाट राइनास उपत्यकाको विकाश, योजनाबद्ध शहरी विकाशका विधि र अबसरहरु, नगरपालिकाहरुको दीर्धकालीन सोच, प्रक्रिया र उदाहरणहरुका साथसाथै निर्माण मापदण्ड, सडक अधिकार क्षेत्र, योजना स्वीकृति, कार्यान्वयन, अनुगमन तथा मुल्यांकनहरुको बारेमा विशेष अन्तरक्रिया भयो | त्यस्तै दोश्रो सत्रमा राइनास नगर विकाशमा कृषिको भूमिका, पर्यटन विकाशको सम्भावनाहरु, नगर शासन र विकाश तथा सार्वजनिक नीतिहरुमा बारेमा बहस भयो |  नगरपालिकाको दीर्घकालीन सोच र त्यो प्राप्तिका लागि तत्काल, मध्यम स्तरीय र दीर्धकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरु वर्गीकृत गरि  अगि बढ्न विज्ञहरुबाट सुझाब प्राप्त भयो | कार्यक्रमको पुर्व उदेश्य अनुसार पहिलो प्रयासबाट सर्बसाधारण जनमानस तथा विकाशका सम्पूर्ण साझेदारहरुलाई जागरण गर्ने र राजनीतिक घेरा भन्दा माथि रहेर सकारात्मक संदेश प्रवाहित गरि नगर विकाशमा सबैलाई अभिप्रेरित गर्ने उदेश्य हासिल भएको सहभागी धेरैको राय प्राप्त भएको छ|
              स्थानीय स्तरमै कार्यक्रम उत्साहजनक सफलताका साथ सम्पन्न भए पश्चात नगरपालिकाले ठोस रुपमा गर्नुपर्ने कार्ययोजनाहरुको लिखित रुपमै सुझाव दिने उदेश्यले काठमान्डौमा मिति २०७२-०९-०६ मा कार्यक्रमको समिक्षा सहित मिटिङ सम्पन्न भयो |
              शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, मानव संसाधन, प्राकृतिक श्रोत संरक्षण, ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको प्रबर्धन विषयहरुलाई समाबेश गरि विकासका सबै साझेदारहरुलाई एकै ठाउँमा गोलबद्ध गराई थप प्रभावकारी र व्यवस्थित कार्यक्रमहरु भविष्यमा सम्पन्न गर्न सामुहिक पहल गरिनेछ |
             कार्यक्रमलाई सफल पार्न लगातार लाग्ने आयोजक समुह, स्थानीय क्लबहरु, आमा समुहहरु, स्थानीय वुद्दिजिवीहरु, समाजसेवीहरु, राजनीतिक दलहरु, व्यवसायीहरु, शिक्षकहरु सबैलाई हार्दिक हार्दिक धन्यवाद |

-    ई. दिनेश चन्द्र पन्थी
उप-महासचिव
नेपाल इन्जिनियर्स एशोशिएसन

२०७२-०९-०८, बुधवार