A Quest For Knowledge [Spirituality, Philosophy, Science, Literature, History, and Politics]
Dinesh Chandra Panthy
Wednesday, September 8, 2010
उठौं लौन साथी
टेबलभरि रगत देखें गुम भो मेरो होस
अतालिदैं छेक्न खोंजें रगतका धारा
चिच्याहट र वेदनाले ढाक्यो कोठा सारा
हिजोमात्रै बाँदरमुढे अस्ति राप्ति पारी
मर्ने हाम्रा दाजुभाईका आत्मा वरिपरी
एकै स्वरमा बोल्दै थिए नलि कत्ति रोध
भन्दै मलाई तिमि पनि नलेउ प्रतिसोध
मर्ने हामी मरिसक्यौं जाग तिमिहरु
शान्ति कै लाई अगि बढ मर्न परे वरु
हाम्ले धेरै गल्ति गरयौं साथले मतियारको
अब तिम्ले छोडनुपर्छ साथ हतियारको
अन्याय र कुरितिको लडाईं छाड्ने होईन
हतियारै समाउँदैमा पाउँदैनौ चईन
लडाईं लड विचारको साहस देखाऊ होसमा
हतोत्साही बन्दै तिमि कमि नलेउ जोसमा
अहिंसाको आन्दोलन गान्धीसँग सिक
पार्नैपर्छ अन्याय त अब तिम्ले ठिक
सबैतिर शान्ति खोज्ने हाम्रा बुद्व विर
मानिराछन् नरमाईलो हेर्दै तिमि तिर
आँउछु भनि राछन् फेरि राख्यौ भने शान्ति
फिंजाउन उहि हाम्रो पुरानो त्यो कान्ति
भन्दै सबै उडिगए आत्माहरु माथी
भइसकेछ ढिलो धेरै उठौं लौन साथी
- दिनेश चन्द्र पन्थी “दीप”
(साउन १४, २०६२)
कलम
असमानता र कुरितिको यो समरमा ।
लेऊ समाउ हतियार यो कलमको
फुटाउ बाँधहरु अन्धकारको यो प्रहरमा ।।
अगि बढ, विज्ञानको लेउ साथ समझमा
उज्यालो यो चाहनालाई पार सदा रमझम् ।
शान्ति प्रिय समाज अनि विकाशको खातिर यहाँ
उठ तिम्रा हतियार कलम कितावको साथमा ।।
कालो अँध्यारो यो जंगलका बिचमा
छैनौ एक्लै छौं सबै हजारमा ।
लेउ समाउ यो दियालो साथमा
पार उज्यालो यो डाँडाकाँडा बजारमा ।।
तिखा बलिया ति हतियार कलमको
साथले लगाऊ औषधि ति विद्यारुपी मलमको ।
लेऊ साथ ज्ञान विज्ञानको यो समरमा
लड्नु छ अज्ञान, अन्धकारको यो विचमा ।।
बिद्याको सदा समिपमा हुँदैन मुर्ख कोही
पाऊँदैन न्याय समाजमा मात्रै त सदा रोई ।
सदा अगि बढ अब कलम लिई साथमा
पार उज्यालो झलमल यो अन्धकार रातमा।।
- दिनेश चन्द्र पन्थी “दीप” (२०६४-१०-०१)
Thursday, August 12, 2010
प्रगतिशील राष्ट्रवादको अन्तरवस्तु
वैचारिक राजनीतिक बहसलाई तर्कसंगत ढंगले खण्डन गर्न नसकेपछि कतिपय व्यक्ति गालीगलौजमा उत्रिने गर्छन्। लेनिनले यस्तो प्रवृत्तिलाई कमजोर मानसिकताको उपज भन्नुहुन्थ्यो। कसैलाई तर्क र तथ्यले जित्न सकिएन भने गाली गरेर मनको सन्तुष्टि लिने न्यूनपुँजीवादी प्रवृत्ति हो। यो पिछडिएको मानसिकता र संस्कारको अभिव्यक्ति हो। भारतसँगको नेपालको सम्बन्धलाई कसरी बुझ्ने र कसरी बदल्ने भन्ने सन्दर्भमा कतिपय मानिसमा यस्तो प्रवृत्ति देखापर्ने गरेको छ।
मैले विद्यावारिधी गर्दाखेरि 'दी नेचर अफ अण्डर-डेभलपमेण्ट एन्ड रिजनल स्ट्रक्चर अफ नेपाल ' विषयमा शोध गरेको थिएँ। त्यसको मूलभूत प्रस्तावनामा नेपाल अल्पविकसित हुनुमा दुइटा कारण प्रष्टाइएको छ। पहिलो : आन्तरिक कारण हो, जसमा लामो समयदेखि सामन्तवादी उत्पादन सम्वन्ध र राज्यसत्ता कायम रहनुलाई मुख्य कारण मानिएको छ। त्यसबारे कृषि, उद्योग, वित्त-व्यापार, बस्तीप्रणाली र सहरीकरण तथा भौतिक पूर्वाधार क्षेत्रको संरचनागत विवेचना गरिएको छ। दोस्रो : वाह्य कारण, जसमा सुगौली सन्धिदेखि यता नेपाल कसरी अल्पविकसित भयो भन्ने विस्तृत व्याख्या गरिएको छ। महेशचन्द्र रेग्मीका अनुसार, सुगौली सन्धिभन्दा पहिले नेपालको भारतसँगको व्यापारमा आयातभन्दा निर्यात पाँच गुना बढी थियो। सन्धिपछि त्यो उल्टिँदै गएर सन् १९८० को दशकमा आइपुग्दा निर्यातभन्दा आयात पाँच गुना बढी भएको तथ्य देखियो। गत वर्षमा त त्यो तथ्यांक सात गुनासम्म पुगेको छ। र, त्यो बढ्दै जाने प्रवृत्ति छ।
भारतसँगको यो असमान सम्बन्ध सुगौली सन्धियता आजपर्यन्त डरलाग्दो ढंगले बढ्दै गइरहेको छ। त्यसलाई मार्क्सवादी परिभाषा गर्दा 'डोमिनेन्स-डिपेन्डेन्स' सम्बन्ध भनिन्छ। समाज विकासको क्रममा एउटा अर्थतन्त्रमा पहिले पु"जीवादको विकास भएर जान्छ र अर्कोमा पुँजीवादको कम विकास हुन्छ। यस्तो भयो भने दुई अर्थतन्त्र र देशबीच असमान विनिमय सम्बन्ध हुन्छ। त्यो अन्ततः आर्थिक, सामाजिक, राजनीतिक रूपमा 'डोमिनेन्स डिपेनडेन्सी' भई अभिव्यक्त हुन्छ। ठूलो अर्थतन्त्रले प्रभुत्व जमाउने र सानो अर्थतन्त्र पराश्रित हुने हुन्छ। नेपाल-भारतसम्बन्धमा ऐतिहासिकरूपले यस्तो चरित्र देखिएको छ। मेरो शोधपत्रको निचोड पनि आन्तरिकरूपमा सामन्तवादी उत्पादन सम्बन्ध बदलिनुपर्छ र बाह्यरूपमा भारतसँगको असमान सम्बन्ध सच्चिनुपर्छ भन्ने रहेको छ। त्यो नसच्चिएसम्म नेपालको विकास र पूर्ण स्वाधीनता सम्भव छैन भन्ने निष्कर्ष निकालिएको छ।
मैले जवाहरलाल नेहरू विश्वविद्यालयमा मार्क्सवादी कोणबाट त्यहाँका वामपन्थी प्राध्यापकको सुपरिवेक्षणमा त्यो शोधपत्र तयार गरेको हुँ। आजभन्दा २५ वर्षअघि। त्यस बेलासम्म म विद्यार्थी र मजदुर राजनीतिमा थिएँ। पूर्णकालीन पार्टी राजनीतिमा आएको त्यसपछि हो। त्यस्तो पृष्ठभूमिसहित क्रान्तिकारी राजनीतिको यो ठाउँमा पुगेको मान्छे भारतप्रति कस्तो दृष्टिकोण राख्छ भन्ने बुझ्न त्यही किताब र त्यही शोधपत्र पढे हुन्छ। मैले जनयुद्धकालमा पार्टी र क्रान्तिको आर्थिक घोषणापत्रको रूपमा लेखेको ......जनयुद्धको अर्थ-राजनीतिक औचित्य'' आलेखको मूल सारतत्व पनि त्यही हो। यस तथ्यविपरीत केही व्यक्तिले मेराविरुद्ध गरेको अनर्गल प्रचारलाई विडम्बना नै मान्नुपर्छ।
नेपालका कतिपय व्यक्तिमा मण्डले राष्ट्रवाद वा सामन्ती राष्ट्रवादको रूप देखिन्छ। उनीहरूमा चर्कोरूपमा भारतको गाली त गर्ने तर आर्थिक तथा राजनीतिकरूपमा पूरै लम्पसार पर्ने, भित्रभित्रै असमान सम्झौता पनि भारतसँग गर्ने र मूलतः भारतीय उद्यमीव्यापारीको कमिसन एजेन्ट वा साझेदारका रूपमा काम गर्ने चरित्र छ। उदाहरणका लागि, विराटनगर जुट मिल नेपालको पहिलो आधुनिक फ्याक्ट्री हो। त्यसमा जुद्ध शम्शेर र कलकत्ताका मारवाडीको संयुक्त लगानी थियो। २५ वर्षअघि नेपालमा पाँच वटामात्र पाँच तारे होटेल थिए। ती सबै दरबारिया र भारतीय पुँजीपतिको संयुक्त लगानीमा थिए। अहिले त्यो प्रवृत्ति झनै बढेर गएको छ। टाटाको सिप्रदी, सूर्य टोबाकोलगायतका ठूला उद्योग हेर्ने हो भने अधिकांश दरबार र भारतीय पुँजिपतिको संयुक्त लगानीमा खोलिएका छन्। तिनै दरबारियाले झन् आफूलाई राष्ट्रवादी र अरूलाई अराष्ट्रिय भन्ने गरे। यो त नक्कली राष्ट्रवाद हो।
जनताको आँखामा छारो हालेर राष्ट्रवादको आवरणभित्र राष्ट्रघाती काम गर्ने र जनतालाई भ्रममा पार्ने जुन प्रवृत्ति दरबारिया शक्तिमा रह्यो, वामपन्थीको एउटा वृत्त पनि त्यसबाट प्रभावित रहने गर्यो। त्यो नेपाली कम्युनिष्ट आन्दोलनमा केशरजंग रायमाझीका रूपमा अभिव्यक्त हुँदै आयो, जसलाई 'रायमाझी प्रवृत्ति' भन्ने गरिएको छ। यहाँको लोकतन्त्रको लडाइभन्दा पनि राष्ट्रियताको लडाइलाई महत्व दिनुपर्छ, त्यसैले संसद्वादी शक्तिभन्दा दरबारिया शक्तिसँग नजिक हुनुपर्छ भन्ने नीति रायमाझीले लिए। त्यसका विरूद्धमा पुष्पलालहरू सामन्तवादविरुद्ध संसदवादी शक्तिसँग मिलेर लड्नुपर्छ भन्ने पक्षमा थिए। भलै संसदवादीमा पनि दलाल प्रवृत्ति थियो। त्यसैले कम्युनिष्ट आन्दोलनमा मूलतः दुई लाइन स्थापित थियो, रायमाझी र पुष्पलाल लाइन।
माओवादी आन्दोलनभित्र पनि यी दुई लाइनको बेलाबखतमा बहस चल्ने गर्यो। मेरो शोधपत्र र मान्यताअनुसार राष्ट्रियता र जनतन्त्र दुबैलाई जोड्नुपर्छ तर तत्काल लड्दाखेरि आन्तरिक जनवादको प्रश्नलाई हल गरेरमात्र राष्ट्रियताको प्रश्न हल गर्न सकिन्छ। आन्तरिकरूपमा जनतालाई अधिकार सम्पन्न नबनाएसम्म, आन्तरिक राष्ट्रियताको सबाल र वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक सबाललाई हल नगरेसम्म सुगौली सन्धि यता भारतसँग रहिआएको जुन असमान सम्बन्ध छ, त्यसविरुद्ध प्रभावकारी ढंगले लड्न सकिँदैन।
राजनीतिकरूपमा पहिलो त सन् १९५० को असमान सन्धि बदल्नुपर्यो। विसं २०५२ को चर्चित ४० सूत्रीय मागको मस्यौदाकार नै म हुँ। जनयुद्ध सुरू गर्ने बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यो मैले पार्टीको तर्फबाट ड्राफ्ट गरेर बुझाई हिडेको हुँ। त्यसका पहिला नौ वटा बुँदा राष्ट्रियतासँग सम्बन्धित छन्। पछि आएर संविधान सभा निर्वाचनका क्रममा पार्टीको प्रतिबद्धतापत्र पनि मैले मस्यौदा गरेको हो। त्यहाँ पनि मैले भनेको छु, यी दुईटा ठूला पहाड (आन्तरिक सामन्तवादी र वाह्य विदेशी उत्पीडन) लाई अन्त्य गरेर मात्र नेपाल स्वाधीन र सम्पन्न हुन्छ। दुईटैका लागि लड्नु त पर्छ, तर मुख्य आन्तरिक जनवादको प्रश्न नै हो। आन्तरिक राष्ट्रिय एकता सुदृढ गरेमात्र वाह्य हस्तक्षेपविरुद्ध लड्न सजिलो हुन्छ भन्ने मान्यता हो, जुन पुष्पलाल लाइनसँग बढी मिल्छ। इतिहास हेर्दा छर्लङ्ग छ, रायमाझी प्रवृत्तिका व्यक्तिले पुष्पलाललाई पनि गद्दार भनेका हुन्। जिन्दगीभर पुष्पलाल गद्दार भनी आरोपित भए। मरेपछि, ०४६ सालको आन्दोलनपछि मात्र उनी पुनर्स्थापित भएका हुन्। त्यो धङधङीबाट ग्रसित प्रवृत्तिले अहिले बेलाबखतमा टाउको उठाउने गर्छ।
हामीले अहिले राजतन्त्रको अन्त्य गर्यौँ। चुनवाङ बैठकपछि १२ बुँदे समझदारी हुँदै यहाँसम्म आइपुग्यौँ। राजतन्त्र त अन्त्य भयो तर सामन्तवादका सबै अवशेष अन्त्य भएको छैन। सामन्ती भूमिसम्बन्ध यथावत छ। क्रान्तिकारी भूमिसुधार नगरेसम्म किसानलाई लोकतन्त्रको खासै अर्थ रहँदैन। जातीय, क्षेत्रीय, लैंगिक उत्पीडन आदिको आन्तरिक जनवादको प्रश्न हल नगरेसम्म आन्तरिक राष्ट्रिय एकता बलियो हुँदैन र त्यो नभएसम्म वाह्य लडाइँ जित्न सकिँदैन। त्यो नभएसम्म बाहिरी थिचोमिचो सहेर बस्नुपर्छ भन्ने होइन। तर भित्रीरूपमा बलियो भएरमात्र बाहिरी शक्तिसँग लड्न सकिन्छ भन्ने हाम्रो आशय हो।
राष्ट्रिय उद्योगको विकास गरेर पर्यटन, जलस्रोत, कृषिको आधुनिकीकरण, तुलनात्मक फाइदा हुने उद्योगजस्तै सिमेन्ट, वनपैदावर, जडीबुटीआदि मार्फत् तीव्र आर्थिक विकास नगरेसम्म जतिसुकै चर्को राष्ट्रियताको कुरा गरे पनि सही अर्थमा कुनै माने रहँदैन। अहिले विदेशी ऋण नै चार खर्ब पुग्न थालिसक्यो। वार्षिक व्यापार घाटा झन्डै अढाइ खर्ब पुगेको छ। यस्तो स्थितिमा जतिसुकै चर्को राष्ट्रियताको कुरा गरेर पनि परनिर्भरता रह्यो भने, अर्काको ऋणमा रहनुपर्यो भने त्यसको अर्थ रहँदैन। त्यो मण्डले राष्ट्रियतामात्र हुन्छ। फेरि उद्योगधन्दा विकास गरेर देशका युवालाई रोजगारी दिन सकिएन भने रोजगारीको निम्ति युवा शक्ति लुकीछिपी विदेश पलायन भैरहन्छ। अलि विपन्नवाला भारत जान्छ, अलि सम्पन्न खाडीतिर। यस्तो अवस्था रहेसम्म राष्ट्रियताको कुरा गर्नु खाली खोक्रो नारामात्र हो।
अहिलेको सन्दर्भमा विगतका असमान सन्धिलाई सच्याउनु एउटा पाटो हो भने त्यससँगै आर्थिकरूपमा आत्मनिर्भर बन्नु व्यापक औद्योगीकरण गर्ने अर्थात् आर्थिक राष्ट्रियतामा जोड दिने कुरा नभएसम्म अमूर्त प्रकारको भावनात्मक राष्ट्रियताले खासै अर्थ राख्दैन। हामी सही अर्थमा स्वाधीन मुलुक बन्न सत्तै्कनौ। यो मेरो स्पष्ट मान्यता हो। अहिले मैले पार्टीभित्र र बाहिर पनि यही विचार राख्दै आएको छु। त्यसैले पहिले जनताको लोकतन्त्रको प्रश्न, जसलाई हामी जनताको संघीय लोकतान्त्रिक गणतन्त्र भन्छौँ, त्यसलाई संविधान सभामार्फत् संस्थागत गरौँ। त्यसलाई सहयोग गर्ने आर्थिक आधारको निर्माण गरौँ। यसको सँगसँगै हामीले भारतसँगको जुन पुराना सन्धि-सम्झौता छन्, तिनलाई कूटनीतिक तबरमा बदलौँ।
सन् १९५० को सन्धिले हामीलाई ठाउँ दिएको छ, एक वर्षे सूचना राखेर त्यसलाई खारेज गर्न पाइन्छ। हामी बलियो भयौँ भने किन सूचना जारी गरेर त्यसलाई खारेज नगर्ने? पहिले हामी सच्याउन भन्छौँ, उनीहरूले मानेनन् भने खारेजीको सूचना दिन्छौँ। जहाँ हाम्रो सिमाना मिचिएको छ, त्यस ठाउँमा बकाइदा ऐतिहासिक नक्सा राखेर आफ्नो दाबी गर्न सक्छौँ। त्यो ठाउँ पुग्न पहिले हामीले नै बलियोहैसियत बनाउनुपर्यो। भारतले एकदिन पेट्रोलियम रोक्दा वा नाकाबन्दी गर्दा घुडा नटेक्ने स्थितिमा हामी पुग्नुपर्यो। त्यसपछि आफ्नो माग पूरा गर्न सकिन्छ। खाली थोत्रो मुखले गालीमात्र गर्यो भने उसले स्वतः हेप्छ। त्यसैले हामी आफ्नै खुट्टामा उभिएको सही र सक्कली राष्ट्रियताको पैरबी गरौँ। मेरो भनाइ यत्ति हो।
यसबारे कतिपय साथीले बिस्तारै बुझ्दै गएका छन्, कतिपयलाई बुझ्न गाह्रो भइरहेको छ। भूमण्डलीकृत विश्वमा राज्यहरू अन्तरसम्बन्धित हुँदै गएका छन्। र, आर्थिकरूपले स्वाधीन नबनेसम्म अरू प्रकारको स्वाधीनताको अर्थ रहँदैन। हिजो जसरी उपनिवेशवादको युगमा विदेशीले राजनीतिक प्रशासन चलाउँथे अहिले त्यसो गर्दैनन्। नवउपनिवेशी तरिकाले वित्तीय पुँजीमार्फत् आफ्नो उपनिवेश कायम गर्छन्। त्यसैले आर्थिकरूपमा आफू आत्मनिर्भर नभएसम्म र परनिर्भरता नहटाएसम्म सही अर्थको स्वाधिनता प्राप्त हुन सक्दैन। मेरो यो दृढ मान्यतालाई नबुझ्नेहरूले गलत ढंगले बोल्छन् र चरित्र हत्या गर्ने अभिव्यक्ति दिन्छन्।
भारत र चीनबीचमा नेपालको विशिष्ट भूराजनीतिक स्थिति छ। नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित राख्नुपर्छ। किनभने, चीनको संवेदनशील क्षेत्र तिब्बतसँग हामी जोडिएकोले उनीहरूको यहाँ चासो हुने गर्छ। खम्पा विद्रोहदेखि नेपालको भूमि जसरी चीनविरोधी क्रियाकलापमा प्रयोग गरियो, त्यसयता उनीहरूले नेपाललाई संवेदनशीलरूपमा हेर्ने गर्छन्। भारतको पनि हामीसँग तीनतिर खुला सिमाना छ। त्यो पनि उसको व्यवहारिक सुरक्षाको पाटो हो। त्यसैले हामीले भन्दै आएका छौँ, भारतसँगको सिमाना व्यवस्थित गरौँ। त्यसो गरियो भने दुईटै देशको हित हुन्छ। त्यसमा भारतीय शासकवर्गले पनि ध्यान पुर्याउन सकिरहेका छैनन्। हाम्राले पनि ध्यान पुर्याउन सकिरहेका छैनन्। भारत र चीन दुवैको सामरिक र सुरक्षा चासो जसरी नेपालमा छ, त्यसलाई हामीले सन्तुलित ढंगले लैजान जरुरी छ। भारतविरुद्धमा चीनलाई प्रयोग गर्ने, चीनविरुद्ध भारतलाई प्रयोग गर्ने प्रवृत्तिको संकीर्ण राष्ट्रियताको नीति अनुशरण गर्यौँ भने त्यो हाम्रो निम्ति प्रत्युत्पादक हुन्छ।
अर्कोतिर, भारत र चीन दुवै तीव्र आर्थिक वृद्धिमा छन्। २१ औं शताब्दीको अन्त्यसम्म चीन र भारत विश्व महाशक्ति बन्नेवाला छन्। अहिलेको एक्लो महाशक्ति अमेरिकाले त्यही भएर नेपाललाई बढो चासोका साथ हेरिरहेको छ। चीन र भारतका बीचमा रहेको नेपालमा अमेरिका आफ्नो पनि पाइला राख्न चाहन्छ। उसको चासोतर्फ पनि हामीले ध्यान दिन जरुरी छ। यी शक्तिका बीचमा सन्तुलित सम्बन्ध नराखीकन एक वा अर्को पक्षतिर ढल्कने वा एकलाई अर्काको विरुद्धमा प्रयोग गर्ने गर्यौँ भने हाम्रो राष्ट्रिय हितलाई फाइदा गर्दैन।
वर्तमान विश्व परिस्थिति र क्षेत्रीय परिस्थिति तीव्र परिवर्तनको प्रक्रियामा छ। यो परिवर्तनको गतिसँगै हामीले हाम्रो राष्ट्रिय चिन्तनको गतिको तालमेल मिलाउन सकेनौ भने एक्काईसौं शताब्दीमा हामी झन्पछि पर्ने खतरा छ। सबै सच्चा देशभक्तले प्रगतिशील राष्ट्रवादको यस सारतत्वलाई ठीक ढंगले ग्रहण गर्न जरुरी छ।
साभार : http://nagariknews.com/opinions/98-opinion/16837-2010-08-11-03-28-07.html
Thursday, March 4, 2010
मेरी प्यारी वाग्मती
अहो ! आज एकाबिहानै
तिम्रो अट्टहास देख्दा,
तिम्रो अस्वभाविक उन्मुक्तता देख्दा,
फोहोर र दुर्गन्धित नै भएपनि तिम्रो पुष्ट वदन देख्दा,
पारि क्षितिजको रक्ताम्मे लालिकिरण सँगै
सकिनसकि तिमी नवयौवना हुन खोजेको देख्दा
तिमी प्रतिको मेरो पुरानो सम्बन्ध
कता कता आज टुसाउन लागेको भान भईरहेछ
तिम्रो मेरो सम्बन्ध टुटाउन
ति भुस्याहाहरुले के मात्रै गरेनन्
तिम्रो अधरमा गन्हाउने थुप्राहरु राखे,
तिम्रो वदनमा अनेक प्रेमलिलाहरु रचि उफ्रिए,
तिम्रो भावभङ्गीलाई रोक्न अनेक संगीनहरु उठाए,
तिमीलाई बलात्कार गरि समाजमा तिम्रो छवि
फोहोरी,
छाडा,
गन्हाउने,
ब्यभिचारिणी
आदि इत्यादि उपमा सहितको बनाए
तिमीलाई तिम्रो मुहार देखाउन लाजमर्दो बनाए
तर
विशाल हृदयकी तिमी
समाजबाट विक्षिप्त हुन खोज्दा पनि सकेकी छैनौ
अनेक नराम्रा उपमाहरु लिएर पनि
सुध्रने चाहनामा छौ
सायद,
तिमीलाई तिम्रो त्यो पुरानो यौवनको याद आए जस्तो छ
आखिर,
म पनि त त्येसैमा लठ्ठिएको थिएँ
तिम्रो मन्द मुस्कान,
तिम्रो शान्त स्वभाव,
तिम्रो चौडा वक्षस्थल,
तिम्रो विशाल उदारता,
तिम्रो मनोहर आकृति,
तिमी वरिपरि झुल्ने
पुष्पवाटिकाहरु,
वासन्ती बगैचाहरु
तिमीसँगै लहडिने मौसमी लताहरु,
तिमीलाई साथ दिने गुलावी असारे फुलहरु,
तिम्रो छातिमा सुगन्ध भर्ने श्वेत कमलहरु
मेरो लागी पनि त औधि आकर्षणका विषयहरु नै थिए
यो मेरो पर्खाई
आज तिम्रो वर्षे अट्टहास सँगै
आनन्दित भईरहेको छ
आखिर
यो दुनियाँको लागी तिमी
ढलमति,
मलमति,
भलमति,
रोगमति,
भोगमति,
शोकमति,
हिनमति,
घिनमति
जे भएपनि
मेरो लागी
तिमी
मेरी प्यारी वाग्मती ।।
-दिनेश चन्द्र पन्थी “दीप”
Tuesday, March 2, 2010
फुल
तिमि असारे तिमि गुलावी
तिमि सयपत्री तिमि केबरा ।
चुड्छु ऊखेल्छु तिमि नफक्रदैं
साथ बिनाको तिम्रो जीन्दगी हे! बरा ।।
रातो पहेंलो रङ्गीबिरङ्गी
फुलबारी रमाईलो सुगन्ध, धुनहरुमा ।
दिनमा ईन्देणी सरी
रात रमाईलो तिमिसँगै जुनहरुमा ।।
तिमि जाग्छौ भर्दै उमङ्ग
उत्साह शितल त्यो नब बिहानीमा ।
लाली ती कोमल किरण झैं हिमालमा
विश्वाश दिन्छौ आशा मरेका जनहरुमा ।।
स्वप्न दिवामा भुल्दै झुल्दै
नव पालुवा सरी लजाउँदै ।
सुगन्ध छोड्दै पल पलमा
मुस्कान भर्छौ आशा दीप जलाउँदै ।।
-दिनेश चन्द्र पन्थी ‘दीप’
२०६६-११-१४
Tuesday, January 26, 2010
My first Feature Article published on राजधानी दैनिक (माघ ७, २०६६)
पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पत्र
आदरणिय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यु,
मलाई थाहा छ तपाईंका दिनहरु बढो व्यस्ततामा बितिरहेका छन्। कहिले पार्टीको आन्तरिक प्रशिक्षण, कहिले पत्रकार सम्मेलन, स्पस्टिकरण, कहिले विदेश बस्ने कार्यकर्ताहरुको प्रशिक्षण,कहिले यता कहिले उता अनगिन्ति कार्यक्रमहरु, देश दौडाहा सायद स्वअध्ययनको लागि त समय सुन्य नै होला। यहाँलाई यो पत्र प्रत्यक्ष पढ्ने समय होला भनेर त मैले सोचेकै छैन तर पनि शुभेच्क्षुक तथा सल्लाहकार मार्फत यहाँ सम्म पुगेपनि मेरो वर्तमान इच्छा पुरा हुने थियो। लेख्न त मलाई ठेली नै लेखेर दिने इच्छा छ तर समयलाई बिचार गरेर केहि खास कुरामात्रै लेख्दै छु।
केहि तालिमको कारणले छिमेकी मुलुक भारतमा जाने काम परेकोले यहाँको पार्टीले आयोजना गरेको पौष ५, ६ र ७ को बन्दको प्रत्यक्ष अनुभव त हुन पाएन तर पौष ७ मा बानेश्वरमा दिनु भएको भाषण चाँही तात्तातै सुन्न पाएँ। तँपाईंको भाषण सुन्न म प्राय अफिसमा व्यस्त हुँदापनि समय निकाल्ने गर्छु। भारतमा हुँदा पनि त्यस्तै गरें। सुन्दै गएँ रमाईलो लाग्दै गयो, दर्शकदिर्धाबाट पनि वा वा र स्याबासी त वर्षीरहेकै थियो। बोल्दै जाने क्रममा खुले आम तपाईंले हेर्दा सुन्दा भारत विरोधी जस्तो तर प्रत्यक्ष रुपमा भारतले नेपाल प्रति झन ठाडो हस्तक्षेप गर्न सक्ने वातावरण बनाईदिनु भएको छ। तपाईंले हाम्रो मालिक दिल्ली हो भन्दा, अब हाम्रो प्रत्यक्ष वार्ता भारतसँग हुन्छ भन्दा पहिलो पटक नेपाली हुनुको गर्व हराए जस्तो लाग्यो। सायद मलाई जस्तै धेरै देशभक्त नेपालीहरुलाई पनि लाग्यो होला। हुन त तपाईंले भनेको कुरामा सत्यता छ तर एउटा जिम्मेवार नेताले त्यसरी सार्वजनिक रुपमा बोल्दा दीर्धकालिन हिसाबमा भारतले अब हस्तक्षेप गर्न कुनै भित्री मार्ग अपनाउनु पर्ने छैन। अत्यन्तै निजी कुरामा ऊ अब ठाडै हस्तक्षेप गर्न सफल हुने छ। ऊ अब आफुलाई स्पष्ट बैधानिक मालिक ठान्ने छ। सायद दिल्ली कुनै जिम्मवार नेपाली राष्टिय नेताले खुलारुपमा यो अभिव्यक्ति बोलेको सुन्ने दिन पर्खिरहेको थियो जुन तपाईंले पुरा गरिदिनुभएको छ। तपाईंले सोच्नुभएको होला जापान विरुद्धको लडाईंमा खास राष्ट्रवादी आफुभएको प्रमाणित गरि माओले आफ्नो शक्ति व्यापक विस्तार गर्न सफल भए जस्तै आफुपनि विदेशीहरुको दोहोलो काडेर नेपाली जनताको व्यापक समर्थन बटुल्छु भनेर तर परिस्थिती फरक छ।
हो, माओवादी पार्टी हाल नेपालको सबैभन्दा ठुलो पार्टी हो तर तपाईंको पार्टीलाई ठुलो जनताले त्यसै बनाएका होईनन्। कांग्रेस, एमाले तथा अन्य पार्टीहरुमा व्याप्त विकृती सर्वहाराको निम्ति आन्दोलन गर्ने तपाईंको पार्टीमा नहोला तथा तपाईंहरुलाई मुलधारको राजनितिमा समेट्न पाए दिर्धकालिन शान्तिको सुरुवात होला भनेर नेपाली जनता लागेका हुन्। तपाईंहरुको राजनितिक दर्शन राम्रो नराम्रो भनेर विश्लेषण गर्नसक्ने नेपाली जनता अल्पसंख्यक नै छन् त्यसैले तपाईंको पार्टी राम्रो र गौरवशाली भन्दापनि अरुमा छाएको विकृतीको फाइदा तपाईंहरुलाई भएको हो। अझैंपनि तपाईंको कार्यकर्ताहरुको रटान र जडसुत्रवादीताले गर्दा फरक र विश्लेषणात्मक बिचार राख्नेको टाउको फोडिने अवस्था छ।
राजनितिक फाइदाको लागी तपाईंहरुको सस्तो र उत्तेजनात्मक अभिव्यक्तिले अनेक जातजातीहरु बिचको सदभावलाई झन वैमनस्यतामा परिणत गर्दैछ। स्वाधिन देश भित्र पराधिनता महसुस गर्ने समुह तपाईंहरुकै कारणले बढदैछ। हुन त तपाईंहरु आफुलाई सबभन्दा राष्ट्रवादी भन्नुहुन्छ तर तपाईं तथा तपाईंको कार्यकर्ताहरुको सार्वजनिक अभिव्यक्ति सुन्दा सुरुवात ‘हाम्रो गौरवशाली पार्टी’ भन्नेबाट सुरु हुन्छ।
प्रसङ्ग अलि तपाईंमा नै केन्द्रित गरौं। पहिलो पल्ट वालुवाटारमा सार्वजनिक हुँदा तपाईंलाई हेर्न सारा नेपाली जनता लालायित थिए। यत्रो जनयुद्धलाई नेतृत्व दिने व्यक्ति अब सार्वजनिक जीवनमा आएपछि देशमा कायापलट हुन्छ भन्ने आशा सबैमा थियो। पुरै वेईमानीले ढाकेको राजनितिक वृत्तमा तपाईं जस्तो योद्धा आएपछि एउटा राजनितिक संस्कार संस्थागत होला भन्ने ठुलो अभिलाशा थियो । यस्तै आशामा नेपाली जनताले तपाईंको नेतृत्वलाई विश्वाश गरि माओवादी पार्टीलाई सबभन्दा ठुलो बनाए, तपाईं प्रधानमन्त्री हुनुभयो लगभग नौ महिना सरकार चलाउनु भयो तर ढाकछोप जसरी भएपनि तपाईंको सरकारको आधारभुत संस्कारमा परिवर्तन भएन। सरकारमा रहुन्जेल तपाईंभन्दा पनि बरु बाबुराम जी बढि चर्चामा रहनुभयो, अर्थमन्त्रीको राम्रो भुमिका निभाउनु भयो। आफ्नै सरकारको एउटा सेनापति त्यो पनि डेड दुई महिनामा स्वत समयावधि सकिनेवालालाई व्यबस्थापन गर्न नसक्नु तपाईंको कमजोरी नै हो ।
रङ् फेरिईरहने तपाईंका अभिव्यक्तिहरु हाल आएर तपाईं प्रतिको विश्वाशमा तगारो बन्न थालेका छन्। तपाईं कहिले गान्धी बन्छु भन्नुहुन्छ, कहिले त्यसैलाई बेवास्ता गर्दै पार्टी र सरकारमा आफ्नै नेतृत्वको विकल्प देख्न चाहनुहुन्न। हुँदा हुँदा आफ्नै समकक्षीलाई स्वकल्पित आरोप लगाई चरित्र हत्या गर्न पछि पर्नु हुन्न। आफूलाई निर्विकल्प नेतृत्वको ठाँउमा राख्न तपाईं सफल त हुनुभएकै हो, यसमा तपाईंको व्यक्तिगत खुबीको खुलेरै प्रसंशा गर्नुपर्छ। भर्खरै पनि सरकारको नेतृत्व आफैंले गर्ने कुरा पार्टीबाट पास गराईसक्नु भएको छ। तपाईंले बोलेको र बोलीलाई नाधेको त मैले बिसौं पटक अनुभव गरिसकें। माओवादी पार्टी तपाईंको व्यक्तिगत हो भने त मैले भन्नु केहि छैन नत्र आफ्नो समकक्षीको नेतृत्वमा विश्वाश गर्न नसक्नु तपाईंको ठुलो कमजोरी हो । के कहिल्यै तपाईंले आफुलाई पार्टीमा नेतृत्वविहिन या भनौं अध्यक्ष विहिन भुमिकामा हेर्ने आँट गर्नुभएको छ ? के कहिल्यै तपाईं आँफु पार्टीको केबल सल्लाहकारमा बसि अरु समकक्षीहरु नेतृत्वमा रहेको देख्ने आँट गर्नु भएको छ? आजै देखी तपाईं हरेक ठाऊँमा आफ्नो निर्विकल्प भुमिका खोज्नुहुन्छ भने तपाईंको पार्टी काँचको टुक्रा रहेछ भन्ने बुझ्नुपर्छ जुन तपाईंले नेतृत्व गर्न नसक्दा सयौं टुक्रा हुनेछ।
एउटा स्वतन्त्र धरातलमा उभिएर तपाईंको पार्टीले अंगालेको बाटोमा समाहित हुने या नहुने भनि बिचार गर्दा तपाईंको ‘कन्फ्युज्ड पर्सनालिटी’ ले जहिले पनि दोधारमा पार्छ। तपाईं आफुलाई यथार्थ लोकतन्त्रवादी भन्नुहुन्छ आफ्नै फोटो पार्टीको केन्द्रिय देखि हरेक कार्यालयमा झुन्याउनु हुन्छ, अब त हुँदा हुँदा पत्रकार सम्मेलनमा बस्तापनि पछाडी आफ्नै फोटो फ्रेममा सजाउन थाल्नु भयो। मैले बुझेअनुसार त मान्छे मरे पछी उसको योगदानको उच्च कदर गर्दै त्यसो गर्नु पर्ने हो। विदेशतिर पनि युग परिवर्तन गर्ने धेरै नेताहरु देखियो, पढियो तर यस्तो बिचित्र त कतै थाहा पाइएन। यसको मतलब तपाईंमा आन्तरिक रुपले व्यक्तिवादिताको प्रबलता छ भन्ने स्पष्ट हुन्छ। हुन त यो ठुलो कुरा नहोला तर नेतृत्वको हरेक शैली जनताले नियालीरहेका हुन्छन् विचार गर्नुहोला।
परिस्थति अनुसार मान्छेहरुको दिमाग भुट्न त तपाईं अत्यन्त चतुर मान्छे। केहि दिन अगाडी खन्ना गार्मेन्टमा समकक्षीलाई आरोप लगाउँदा बदनाम हुने डरले त्यो बाट बच्न भर्खरै तपाईंकै भातृसंगठन नेवा राज्य समितिले आयोजना गरेको कार्यक्रममा आफुमाथीको सुरक्षाको खतराको सवाल उठाउनु भयो। सुरक्षाको खतरा त तपाईंलाई मात्रै होइन संसारभरि नै नेतृत्वमा बस्ने सबैलाई हुन्छ तर तपाईंले कसरी प्रसंग बदल्न खोज्दै हुनुहुन्छ त्यो रोमान्चकारी छ । तपाईंको अभिव्यक्ति अनुसार पनि त राजा पृथ्वीनारायण शाह, राजा विरेन्द्र नेपालीहरुले मन मष्तिष्कमा सजाउनुपर्ने व्यक्तित्व रहेछन् नि तर तपाईंका कार्यकर्ताहरुले सिंहदरवार अगाडी पृथ्वी शालिकको हात भाँच्दा तपाईं कहाँ निदाउनु भएको थियो? त्यसैगरि तपाईंकै कार्यकर्ताहरुले पोखरामा पृथ्वी तथा विरेन्द्र शालिक भत्काउँदा कुन गुप्तवासमा तपाईं बस्नु भएको थियो? किन सार्वजनिक अपिल निकाल्न सक्नुभएन ? तपाईंले राष्ट्रिय सभागृहमा देशभक्त भनेका कुन व्यक्तित्वलाई तपाईंका कार्यकर्ताहरुले सार्वजनिक सम्मान गरेका छन्?
प्रचण्ड जी, सास रहुन्जेल आस पलाउँछ भनेजस्तै फेरिपनि तपाईंप्रति केहि न केहि आस त सबैको छ। राष्ट्रिय राजनितिमा अलि चल्दापुर्जा त तपाईं नै हुनुहुन्छ, आफ्नो पार्टीको त तपाईं निर्विकल्प नेता तपाईंको बोली व्यबहार केहि न केहि ‘मेसेज’ दिने पक्कै हुनुपर्छ। पार्टीको तल्लो निकाय देखि फेरि एकपल्ट तपाईंले फरक विचारलाई सम्मान गर्न ‘स्कुलिङ’ गर्नुपर्ने आवश्यकता छ। कार्यकर्तालाई सिकाउनु होला कि माओवादी नामले मात्र सच्चा कम्युनिष्ट भईदैन अन्य पार्टीमा लागेका मान्छेहरु व्यक्त नगरेपनि व्यवहारत सच्चा कम्युनिष्ट हुनसक्छन् सम्मान गर्नुपर्छ। भन्नुहोला कि कार्ल माक्सले कम्युनिज्ममा पुग्ने प्रमुख बाटो वर्ग संगर्षलाई भन्नुभएको थियो तर अहिलेको विज्ञान तथा सुचना प्रविधीको व्यापक विस्तारले अँझै छिटो सम्भवत वर्ग संगर्ष बिना नै कम्युनिज्ममा पुग्ने वातावरण सिर्जना हुँदैछ। अँझै थप्नुहोला कि अब वर्गविहिन तर विविधतामा आधारित समाज एकदलिय सर्वहारावर्गको अधिनायकत्वबाट भन्दा बहुदलिय लोकतान्त्रिक व्यवस्थाबाट छिटो हुने छ।
लेख्दा लेख्दै लामो हुन थाल्यो, दिमागमा अनगिन्ति कुराहरु खेलिरहेका छन्, पत्रिकाले छाप्ने नछाप्ने पनि पक्का छैन । पत्रमा जति गाली गरेजस्तो लागेपनि तपाईंको एउटा शुभेच्छुकले लेखेको सम्झनु होला। हामीलाई हाम्रो नेता भनेर गर्व गर्न मिल्ने व्यक्ति चाहिएको छ। समय मिलेमा र केहि त लेख्नै पर्ने लागेमा फेरि लेख्ने वाचा गर्दै विदा हुन्छु। धन्यवाद।
तपाईंको शुभेच्छुक
दिनेश चन्द्र पन्थी
भलायखर्क-१, लम्जुङ
dineshpanthy@gmail.com