नेपाल सरकारले २०५३
सालपछिको लगभग १९ बर्ष पश्चात हालसालै छोटो छोटो समयको अन्तरालमा तीन चरणमा गरि
साबिकको ५८ नगरपालिकाहरुबाट बढाएर जम्मा जम्मी २१७
नगरपालिका घोषणा गरिसकेको छ | घोषित सम्पूर्ण नगरपालिकाहरुको जम्मा जनसंख्या हेर्दा
छोटो समयमा साबिकको १७ प्रतिसतबाट बढेर हाल लगभग ४२ प्रतिसत नगरवासी जनसंख्या हुन आउने
देखिन्छ | सम्भबत छोटो समयमा गाउँवासीबाट नगरवासीमा परिणत हुने यो संसार
कै उच्च दर हुन सक्छ | संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहसचिव तथा
प्रबक्ता पूर्णचन्द्र भट्टराई र नगरपालिका
महाशाखाका अधिकारीहरुसंग नयाँ नगरपालिका घोषणा सम्बन्धि आधारभूत प्रावधान
र विविध आधारहरुको बारेमा बुझ्दा उक्त मन्त्रालयले भूगोलविद प्रा. डा. केशवानन्द
गिरीको संयोजकत्वमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरु
सहित विभिन्न
सरोकारवाला मन्त्रालयका उच्च स्तरीय प्रतिनिधिहरु सम्मिलित “नगर
निर्धारण तथा सिफारिस प्राविधिक समिति” को सिफारिसलाई आधार मानि नेपाल सरकारले
नगरक्षेत्र घोषणा गरेको बताउँदछन् | स्थानिय स्वायत्त शासन ऐनमा निर्धारित मापदण्डलाई नगरक्षेत्र घोषणा गर्ने प्रमुख
आधार मानेको भनिएता पनि कतिपय नगरपालिकाहरु सम्बन्धित क्षेत्रका राजनीतिक
प्रतिनिधिहरुको रहर र निजहरुले जनमानसमा केहि
गरेको देखाउने अभिलाषा पनि छिटो छिटो नगरपालिका घोषणा हुनुको कारक भएको नकार्न
सकिंदैन |
स्मरणीय छ, स्थानिय स्वायत्त शासन
ऐन २०५५ ले नेपाल सरकारले मुलुकको कम्तिमा २० हजार तर पहाडी र हिमाली क्षेत्रको
हकमा कम्तिमा १० हजार जनसंख्या भएको र बिजुली, सडक, खानेपानी र संचारको व्यबस्था
भएको कुनैपनि क्षेत्रलाई चारकिल्ला खोलि नगर क्षेत्र तोक्न सक्ने कानुनी व्यबस्था
गरेको छ | यसै व्यवस्था बमोजिम २०५९ सालबाट नगरपालिका गठनका प्रयासस्वरूप आधा
दर्जन भन्दा बढी प्राविधिक समितिहरु गठन भएर कार्य अगाडी बढाएको भएतापनि २०७०
सालमा आएर मात्र नयाँ नगरपालिकाको घोषणा हुन सक्यो |
नयाँ नगरपालिकाहरुको घोषणा कै
क्रममा सबैभन्दा पछिल्लो शृंखला अन्तर्गत नेपाल सरकारले घोषणा गरेको २६ नगरपालिकाहरु
मध्ये लमजुंग जिल्लामा पनि तीन नयाँ नगरपालिकाहरु परेका छन्, जसमा पूर्वी लमजुंगको
तार्कुघाट,
धमिलिकुवा, चक्रतीर्थ, भलायखर्क, प्यार्जुंग र मोहोरियाकोट गरि
हालको ६ गा.बि.स.हरु मिलाएर राईनास नगरपालिका घोषणा
गरिएको छ | यस नगरपालिकाको क्षेत्रफल ७३ वर्ग किलोमिटर, जनसंख्या १८५२७, जनघनत्व
२५४ प्रति वर्ग किलोमिटर छ | त्यसैगरि रम्घा, तान्द्रांग टक्सार, सुर्यपाल, समि
भंझ्यांग, र जिता गरि हालको ५ गा.वि.स.हरु मिलाएर मध्य नेपाल नगरपालिका र भोर्लेटार,
करापुटार, इशानेश्वर, र बांग्रे गरि हालको ४ गा.वि.स.हरु मिलाएर करापुटार
नगरपालिका घोषणा गरेको छ |
व्यवस्थित नगरविकाशको
आधारशिला निर्माण गरि
स्थानिय
साधन श्रोतको पहिचान, समुचित प्रयोग र ब्यबस्थापन, बृहत राजनीतिक र प्रशासनिक इकाई,
सरकारी प्रशासनिक तथा प्राविधिक संयन्त्रको स्थायी उपस्थिति जस्ता कुराहरुलाई विचार गर्दा नगरपालिका घोषणा
हुनुलाई सकारात्मक मान्नु पर्दछ | अव्यबस्थित शहरीकरण हुनु अगाडी नै सम्भाव्य
क्षेत्रलाई नगरपालिका बनाउन सकेमा समग्र दीर्घकालीन नगर विकाशको सहज सुरुवात गर्न
सकिने सरकारी अधिकारीहरुको मत छ तर हालको न्युनतम पूर्वाधारहरु पनि निर्माण नभैसकेको अवस्था र स्थानिय स्तरमा पर्याप्त सामान्य सार्वजनिक बहस पनि नगरि त्यो पनि विनासकारी
भूकम्पले क्षत विक्षत पारेको अबस्थामा घोषणा गरिएको नगरपालिकाहरुप्रति सर्वसाधारण
जनतामा देखिनु पर्ने उत्साह देखिएको छैन| घोषित नगरपालिकाहरुको विषयमा सरकारी तहबाट
विस्तृत विकाश कार्ययोजना समेत प्रस्तुत गर्न नसक्दा नगरपालिकाको घोषणाले मात्र
जनस्तरमा सेवा सुबिधा प्रवाह गर्ने सन्दर्भमा आउने लामै समयसम्म तात्विक भिन्नता
पर्ने देखिदैन | कुनै ठोस योजना र पूर्वाधारविना रातारात गाउँवासीलाई नगरवासी
बनाउनु भन्दा त बरु पुरानै परिचय नै ठिक थियो भन्ने आवाजपनि प्रसस्तै उठेको छ|
कतिपय स्वतन्त्र विशेषज्ञ तथा प्राविधिकहरुले सरकारको कमजोर तयारी भयो भनिरहेको
अबस्थामा सहसचिव भट्टराई
भने घोषणाको क्रममा सरकारी
श्रेस्ता प्रणालीलाई सकेसम्म नबिगार्ने उदेश्य राखिएकोले कतिपय पूर्वाधार विहिन दुर्गम वस्तीहरुलाई पनि
नगरपालिका भित्र राख्नु परेको कुरालाई स्वीकार्दै समग्र विषयलाई मौकाको
रुपमा ग्रहण गरि विध्यमान स्थानिय स्वायत्त शासन ऐनको अधिकतम उपयोग गरि आफ्नो ठाउंको
दिर्घकालिन विकासमा लाग्दै जानुपर्ने धारणा राख्नुहुन्छ|
राईनास नगरपालिका कै सन्दर्भमा
यसले समेटेको भूभाग पूर्वी लमजुंगको अत्यन्त सम्भावना बोकेको ठाउँ हो | सामान्य अबस्थामा पनि यो भूभाग
हाललाई एकीकृत वस्ती विकाश गर्दै भविष्यमा शहर बिकाश गर्न सकिने देखि लिएर आधुनिक कृषिकरणको लागि उपयुक्त स्थान हो | पर्यावरण,
पर्यटन, भौगोलिक अवस्थिति, बन क्षेत्र, खानेपानी तथा सिंचाइ
र अन्य
सम्भावनाहरुको समग्र वस्तुस्थितिहरुलाई मध्यनजर गरि केहि समय अगी मात्रै स्थानिय
वुद्धिजीवी र सरोकारवालाहरुको पहलमा बृहत राइनास उपत्यकाको अबधारणा पनि प्रस्तुत
गरिएको थियो |
क्रमबद्ध तयारीको कमि भयो भन्ने नै हालको आम गुनासो हो | प्रस्तावित विस्तृत योजना, नगरपालिका भए पश्चात जनताले पाउने
सेवा, सुबिधाको फरक, उनीहरुको दायित्व आदिको वारेमा स्थानिय, राजनीतिक, बौद्धिक विभिन्न तहमा बहस, छलफल, सुनुवाई, तर्कवितर्क हुनुपर्ने हो जुन कुरा
अरु नगरपालिकाहरुमा जस्तै यहाँपनि त्यति देखिएन | प्रचुर सम्भावना बोकेको ठाउँ हुँदाहुँदै पनि यी र यस्तै कमजोरीहरुको
कारणले अझैं लामो समय यंहा पनि नगरवासीको नाउँमा गाउँले जीवन जिउनु पर्ने हुनसक्छ|
केहि वर्षसम्म हालकै
गा.वि.स.हरुलाई जोडेर विध्यमान ऐनमा सामान्य संसोधन गरि बृहत नगरउन्मुख गाउँपालिका
बनाएर, नगरउन्मुख यस्ता ठाउँहरुलाई
सरकारले विकाशको विशेष केन्द्रविन्दुमा राख्दै सरकारी बजेटपनि केहि बर्षको लागि नगरपालिकाको
भन्दाबढी राखी अगी बढेको भए बढी परिपक्क, ब्यबहारिक, र जनताले महशुश गर्न सक्ने खालको हुने
थियो | जे जसो भएपनि यो चरण पार गरिसकेकोले अब अगाडी कसरी बढ्ने भन्ने कुरामैमै
सबैको ध्यान केन्द्रित हुनु जरुरि छ |
अबको प्रार्थमिकता
तत्काल स्थानिय सरोकारवाला,
वुद्धिजीबी, नागरिक समाज तथा राजनीतिक दलहरु सम्मिलित सरोकार समुह गठन गरि निश्चित
समय सिमा भित्र नगरपरिषद भेला आयोजना गर्ने र केहि दिर्घकालिन महत्व राख्ने निम्न
विषयहरुमा बहस गरि बृहत गुरुयोजना बनाउनु आवश्यक छ |
क. सार्वजनिक जग्गाहरुको संरक्षण
नगर विकास हुँदै जाँदा भविष्यमा सार्वजनिक स्थल, पार्क,
चौतारा, पार्टी पौवाहरुले बिशेष महत्व राख्दछन | विकशित शहरहरुमा त यस्ता खुला
सार्वजनिक स्थानहरुलाई शहरी मुटु नै भनिन्छ | हाललाई राईनास नगरपालिका भित्र यस्ता
खुला ठाउंहरु प्रसस्त भएकाले उति साह्रो महत्व नलाग्न सक्छ तर केहि वर्ष भित्रै
यस्ता कुराहरु अत्यन्त महत्वपूर्ण हुन जान्छन | नगरपालिका घोषणा भए पश्चात जग्गाको
मूल्य अत्यधिक वृद्धि हुने र सार्वजनिक जग्गाहरु हडप्ने प्रबृत्ति बढ्न सक्छ |
कतिपय सामाजिक संघ संस्थाहरुको पनि आँखा लाग्ने र भविष्यमा खुला स्थलहरु कम हुँदै
जाने हुनाले सकेसम्म छिटो सार्वजनिक स्थल सरोकार समुह बनाई अहिल्यै देखि यस्ता
ठाउंहरुको पहिचान गर्ने, लगत राख्ने, साँध सिमाना छुट्याउने, सकिन्छ भने अधिकरण
समेत गरि धेरै खुला ठाउंहरु राख्ने र ठाउं ठाउँमा सचेतनामुलक बोर्डहरु राख्ने काम
गरिहाल्नु पर्दछ | पार्टीपौवा, चौताराहरु हाम्रो परिचय भएकोले उचित संरक्षण गर्न
जरुरि छ |
ख. बृहत दिर्घकालिन गुरुयोजना
नगर विकाश समिति तथा सबै सरोकारवालाहरुले स्थानिय सरकारी
संयन्त्रकै संयोजनमा विज्ञ, विशेषज्ञहरुलाई भेला गरि स्थानिय स्तर देखि राष्ट्रिय
स्तरसम्मै व्यापक अध्ययन, अनुसन्धान, बहस, छलफल र तर्क वितर्क गरि दिर्घकालिन
विकासको गुरुयोजना बनाउनु पर्दछ | यस्तो दिर्घकालिन गुरुयोजनामा विशेषत शहरी विकाशको
लागि उपयुक्त क्षेत्र, वाताबरणमैत्री शहरी विकाश योजना, नगर यातायात गुरु योजना,
एकीकृत बस्ती विकास योजना, आधुनिक कृषिकरणको योजना, विध्यालय, विश्वविद्यालय, स्वास्थ्य
केन्द्रहरुको स्थापना, मनोरंजन स्थलको विकाश, प्राकृतिक श्रोत साधनहरुको संरक्षण, उद्योग
विकाशको योजना र संचार इन्टरनेट जस्ता महत्वपूर्ण कुराहरुलाई एकीकृत रुपमा समेट्नुपर्दछ
| यो
कुराले स्थानिय स्तरमा अपनत्व विकास गरि समग्र दिगो विकासको आधारशिला निर्माण
गर्दछ |
ग. मापदण्ड निर्धारण र लागु
नगरपालिका घोषणा गर्नुको जे जस्तो पृष्ठभूमि भएपनि योजनाबद्ध
विकासलाई यसको केन्द्रमा राख्नुपर्दछ | योजनाबद्ध बिकाशको लागि निश्चित मापदण्डको
निर्धारण र कठोर पालना अत्याबश्यक कुराहरु हुन | बुज्नमा आए अनुसार आधारभूत
मापदण्डको बाबजुत नयाँ नगरपालिकाको सन्दर्भमा स्थानिय स्वायत्त शासन ऐनले आवश्यकता
अनुसार मापदण्डहरुको निर्धारणर लागु गर्ने कुरामा प्रसस्त अधिकार दिएको छ | यो
अधिकारको व्यापक प्रयोग गरि जनस्तरमा यसको आबश्यकता र दीर्घकालिन असरको बारेमा
सुसुचित गर्ने र लागु गर्न अहिल्यै देखि अभिप्रेरित गर्नु पर्दछ | यस्तो
मापदण्डहरुमा मूलसडक तथा सहायक सडकहरुको लागि चाहिने पर्याप्त जग्गाको व्यवस्था,
एकीकृत जग्गा विकाश तथा हाउजिंगको मापदण्ड, व्यक्तिगत, सामुदायिक तथा ब्यापारिक घरहरुको
मापदण्ड र अन्य महत्वपूर्ण पूर्वाधारहरुको मापदण्ड जस्ता कुराहरु पर्दछन |
घ. स्थानिय दायित्व, अधिकार र सेवा
केन्द्रहरुको स्थापना
नयाँ नगरपालिकाहरुको सन्दर्भमा भईरहेको सरकारी सेवा
केन्द्रहरुको ब्यबस्थापन र नयाँ सेवा केन्द्रहरुको स्थापना महत्वपूर्ण विषयहरु हुन
| यसको साथसाथै नगरपालिका भएपछि स्थानिय जनताको दायित्व, अधिकार, सेवा सुविधामा फरक,
प्रसासनिक काम कारवाहीको फरक जस्ता कुराहरुलाई सुसुचित गर्ने र सहज पहुँचको साथै सेवाको
छिटो छरितो ब्यबस्थापनको लागि उचित स्थानमा सरकारी सेवा केन्द्रहरु राख्ने कुरालाई
बहस गरि छिटो कार्यान्वयन गर्नुपर्दछ |
ङ. स्थानिय श्रोत साधनहरुको पहिचान, लगत
र समुचित उपयोग
स्थानिय सरोकारवालाहरुको सहयोगमा सरकारी संयन्त्रले नगरपालिका
क्षेत्र भित्र पर्ने प्राकृतिक श्रोत साधन जस्तै नदीनाला, खोला, पानीको मुहान,
पोखरी, बनजंगल, खनिज श्रोत तथा इन्धनको सम्भावना, उद्योग धन्दाको लागि चाहिने
कच्चा पदार्थ, मानव संसाधन, र अन्य सम्भावनाहरुको पहिचान, लगत र अध्ययन योजना बनाई
समुचित उपयोगको योजना बनाउनु पर्दछ | दिगो दिर्घकालिन विकाश र पर्यावरणमा असर
पर्ने कुराहरुको सन्दर्भमा नगरपालिका क्षेत्रभन्दा बाहिरका श्रोत साधन र विषयहरुमा
पनि त्यतिकै ध्यान केन्द्रित हुनु जरुरि छ |
च. पर्यटकीय स्थलहरुको विकाश
नेपालको दीर्घकालीन विकाशमा आन्तरिक तथा वाह्य पर्यटन
मूल आधार बन्दै गईरहेको अबस्थामा राइनास नगरपालिका पनि पर्यटनको आधार क्षेत्र बन्न
सक्छ | ऐतिहासिक राइनासकोट, आठस्वाँरा, पन्थीडाँडा, कालिका मन्दिर, भलायाखर्क, चक्रतीर्थ,
चम्पावती तट, लिगलिगकोट, मोहोरियाकोट, प्यार्जुंग, तार्कुघाट तथा धमिलिकुवाका
विभिन्न स्थानहरु पर्यटकीय दृस्टीकोणबाट त्यतिकै महत्वपूर्ण छन् | धार्मिक,
सांस्कृतिक, जातीय, ऐतिहासिक र मनोरंजनले भरिपूर्ण यस्ता पर्यटकीय स्थलहरु थप
सम्भावनाहरुको गहन पहिचान गरि विकाशको योजना बनाउनु पर्दछ |
छ. आर्थिक क्रियाकलापहरुको विस्तार
नगरपालिकाको क्षेत्र भित्र र अगलबगलमा पर्ने गा.वि.सहरु
संग आर्थिक अवसर र सम्बन्धको विस्तार, सम्भाव्य आर्थिक उपार्जन, व्यवसायिक आकर्षण,
उद्यमशिलताको विकास लगाएतका आर्थिक क्रियाकलाप विस्तारका क्षेत्रहरुको पहिचान गरि
अहिले देखि नै अगी बढ्नु पर्दछ |
माथि उल्लेखित दीर्घकालीन असर
गर्ने विविध विषयहरुको अलावा युवाहरुको समग्र विकासको लागि खेलकुद मैदान,
सामुदायिक अध्ययन केन्द्र, बैंकिंग शाखा, संचार, इन्टरनेट तथा सूचना प्रविधि केन्द्रहरुको
विकासमा पनि तत्काल ध्यान दिनु जरुरि छ | त्यसैगरि हालको मूल सडकको स्तरोन्नति,
सडक संजालले नछोएको उचित ठाउँमा सडक विस्तार, र बिजुली पानीको विस्तार जस्ता
कुराहरु अति आबश्यक वस्तुहरु भित्र पर्दछन | यी सबै कुराहरुमा स्थानिय जनताको
अपनत्व जगाउदैं क्रमबद्ध विकास गर्न सकियो भने साच्चिकै नगरपालिका घोषणाले सार्थकता
पाउने छ |
-
ई. दिनेश चन्द्र पन्थी,
dineshpanthy@gmail.com
राइनास नगरपालिका-9, सहिलिटार
उपमहासचिव,
नेपाल इन्जिनियर्स एशोसियसन
No comments:
Post a Comment