Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom
Showing posts with label सम्झना. Show all posts
Showing posts with label सम्झना. Show all posts

Tuesday, August 18, 2020

प्रिय कविको छन्द लहरी

 राष्ट्र कवि माधव प्रसाद घिमिरे प्रति समर्पित

कविवरको देहावसान  : २०७७|०५|०२, मंगलवार  (उमेर : १०१ वर्ष)

----*----*-----*-----*-----*-----*-------*-----*------*------*------*----


१)

प्रचण्ड उष्ण,
छंगछंग निर्झरीको समिप, आद्र वायु,
जब हुन्छ शरीर सेचन,
हुन्छ शितल, प्रफुल्ल तनमन,
अहा !
त्यो भन्दा प्रफुल्लित, शितल
प्रिय कविको छन्द लहरी |



 २)

उकुसमुकुस ग्रीष्म,
वरपिपल चौतारी, शान्त बतास,
जब गर्छ सु-कोमल चुम्बन,
हुन्छ आनन्द, शान्त तनमन,
अहा !
त्यो भन्दा आनन्दित, शान्त,
प्रिय कविको छन्द लहरी ||


३)

शैशव वसन्त,
कोमल पालुवाका मधुर धुन,
जब ठोक्किन्छ कर्णपत्रहरुमा,
भर्छ मधुर मादकता मस्तिष्कमा,
अहा !
त्यो भन्दा माधुर्य, मादक,
प्रिय कविको छन्द लहरी |||



४)
उन्मात्त शरद,
फक्रिएको वातावरण, गोधुली साँझ
जब भर्छ रस कण कणमा,
बन्छ हृदय रसिलो,
अहा !
त्यो भन्दा रसिलो, कोमल
प्रिय कविको छन्द लहरी|||
-*-----*-----*-----*-----*-




- दिनेश चन्द्र पन्थी ‘दीप’

२०७७ भाद्र २, रोज ३ |
********************************

Friday, December 20, 2019

बा’को सम्झना, पौष ०४,


आज भन्दा ठिक १८ वर्ष अगाडी पौष ०४ गतेकै दिन हामीमाथि एउटा ठुलो बज्रपात पर्यो | एक दर्जन भन्दा बढी सदस्यहरु रहेको हाम्रो परिवारको मूल मियो भाँचियो | हाम्रो भरोसा, हाम्रो बाटो, हाम्रो ज्योति, हाम्रो आकाश एकैचोटी अन्धकारले ढाक्यो | एउटा निस्पट्ट अँध्यारो, एकोहोरो बिरहलाग्दो धुन, वरपर सबै निसहाय लाग्ने हुल, कता जाने, कसो गर्ने, कसरी निर्वाह चलाउने, के गरि अगाडिको जीवनयात्रा तय गर्ने जस्ता धेरै अनुत्तरित जस्ता लाग्ने प्रश्नहरुको भारी मात्र हामी वरपर थियो | हेर्दाहेर्दै वर्तमान नै हुनुपर्ने वाक्यहरु आफैं भुतकालमा बदलिन्छन् र कतिपय आँखै अगाडी घटेका घटनाहरुप्रति पनि अविश्वास मात्र हुन्छ भन्थे, त्यस्तै भयो | फेरी उठनुहुन्छ, आफ्नो दैनिकीमा लाग्नुहुन्छ, हामीलाई कहिले प्रेम त कहिले सतेतनाले भरिएको कठोर गाली गर्नुहुन्छ, गलत मार्गमा लाग्दा औँला ठड्याउनुहुन्छ, मिर्मिरेको उषासंगै हामीहरुमा जीवन भर्नुहुन्छ, र सन्ध्याको गोगुलीमा हामीहरुसंगै खेल्नुहुन्छ भन्दाभन्दै बा उठ्नुभएन, झन् गहिरो निन्द्रामा सुत्नुभयो | “बा बा उठ्नु न” भन्ने सयौं पुकारहरु सुन्नु भएन, अबिचलित सुतिरहनु भयो | सायद सांसारिक मोहको दुनियाँमा कहिल्यै नफर्कने गरि अर्कै दुनियाँमा प्रस्थान गरिसक्नु भएको थियो |     
थेग्नै नसक्ने पहिरोले किचिएर अंगभंग भएजस्ता हामीमाझ केवल बाँकी थियो त हामीलाई साहसिक र निडर हुँदै कर्ममार्गमा अभिप्रेरित गर्ने बा’का अलिक कडा शब्दहरु | तिनै जो शब्दहरु आजपर्यन्त पनि गुन्जायमान छन् अन्तस्करणमा प्रतिध्वनित हुँदै, निरन्तर फैलदैछन् गगन र धरा बिचमा, सुमधुर संगीत भर्दैछन् जीवनका हर पलहरुमा, जति गहिरिन खोज्यो त्यति गहिरो भाव बोक्दैछन जीवनको भोगाइमा | हर नयाँ दिन जो प्रेरणाहरुले निर्देशित छन्, त्यसको श्रोत त्यहि हो, त्यहि प्रतिध्वनित हुँदै निरन्तर गुन्जदै निरन्तर फैलिदै विचरित ध्वनिहरू | गगनभेदी स्वरमा त्यो अझैं फैलिरहोस् | एक असल र सरल नागरिक बन्न अभिप्रेरित गरीराखोस् | धन्यवाद बा |  
बा’को आत्माले सदा शान्ति पाओस् |