Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom
Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

Thursday, October 29, 2020

म आएँ, ए सोलु, म आएँ |

 १)

तिमीलाई भेट्न,

अनेक उमङ्गका बहार लिएर,

हजारौं भावनाहरुमा छचल्किएर,

दिनको प्रकाश र रातको जुनसंगै पौडिएर,

मन मस्तिस्कमा तिमीलाई नै सजाउंदै,

पानीमा बाफ झैँ एकाकार हुन,

म आएँ, ए सोलु, म आएँ |










२)

तिम्रो सफेद रुपको साक्षात्कार गर्न,

अनेक बाधा अड्चन सहेर,

न प्यासमा भुलेर, न राषमा भुलेर,

मुटुको कण कणमा तिमीलाई नै सजाउंदै,

शरदको बिहानीमा,

कोमल भानुको लालित्यसंगै तिमिसंग लहसिन,

म आएँ, ए सोलु, म आएँ || 


3)

तिमिसंग प्रेमिल मिलनको आशा रोपेर,

हरक्षण सुनौला बिहानी भर्ने तिम्रो गुणगान सुनेर,

उर्लंदो खहरेहरु छिचोलेर, नागबेली पहाडहरु चढेर,

शितमा नुहाएर, जुनमा ओभाएर,

अञ्जुली भरि सुनकोशीको तरङ्ग उबाएर,

तिम्रो निष्कपट मायाको संसारमा हराउन,

म आएँ, ए सोलु, म आएँ |||









४)

हेर त ! तिम्रो अगाडी एक प्यासी,

खुशीका हजारौं शृंखलाहरु साँट्न,

मनका वहहरु पोख्न र इन्द्रेणी सपनाहरु सजाउन,

असंख्य पनहरुको असंख्य मनहरुको दुत बनेर,

न रागमा भुलेर, न द्वेषमा डुबेर,

तिम्रा सयौं अमृतकुण्डहरुमा डुबुल्की मार्न,

म आएँ, ए सोलु, म आएँ ||||








५)

एक यात्री बनेर, स्वप्निल रात्रीहरु बिताएर,

खर्कहरुमा चौंरीका वगालहरुसंगै जिस्कदैं,

तिम्रो स्वर्णिम शिर सगरमाथा चुम्न,

तिम्रो छातीमा हाँसेका गुँरासहरुसंगै रङ्ग भर्न,

तिम्रा असंख्य हिउँचरी र डाँफेहरुसंगै नाच्न,

मध्य शरदको सुन्दर बिहानीमा,

म आएँ, ए सोलु, म आएँ |||||











६)

तिम्रो घुम्टो आज कसिलो देख्दै छु,

कि लजायौ या, रिसायौ ?

आफ्नै बलेनीमा हुर्किएको एक प्रेमीको,

थकित पर्खाइमा या त दुख बिसायौ ?

रंगिन कृतिम संसारको रमझम,

तर नितान्त एक्लो परिवेशमा

तिम्रो याद हुरी बनेर आयो, र त म आएँ, 

संसार छाडेर तिमिसंगै हराउन म आएँ,

ए सोलु, उघार प्रेमको घुम्टो,

म आएँ, म आएँ, म आएँ ||||||



-  दिनेश चन्द्र पन्थी “दीप”

(२०७७-०७-१२, बुधवार)


(नोट : नेपालको पूर्वी पहाडमा रहेको, प्राकृतिक सुन्दरताले भरिएको, सर्वोच्च शिखर सगरमाथा सहित असंख्य हिमशैलहरु शिरमा बोकेको भु-स्वर्ग सोलुखुम्बुको प्रथम भ्रमण, नेपाल टेलिकम, सोलु-सल्लेरी कार्यालय निरिक्षण गर्ने क्रममा आश्विन-१९, २०७७ सोमवारका दिन गर्ने सौभाग्य मिलेको थियो |)  

--------------------**------------------------**-------------------------

Tuesday, August 18, 2020

प्रिय कविको छन्द लहरी

 राष्ट्र कवि माधव प्रसाद घिमिरे प्रति समर्पित

कविवरको देहावसान  : २०७७|०५|०२, मंगलवार  (उमेर : १०१ वर्ष)

----*----*-----*-----*-----*-----*-------*-----*------*------*------*----


१)

प्रचण्ड उष्ण,
छंगछंग निर्झरीको समिप, आद्र वायु,
जब हुन्छ शरीर सेचन,
हुन्छ शितल, प्रफुल्ल तनमन,
अहा !
त्यो भन्दा प्रफुल्लित, शितल
प्रिय कविको छन्द लहरी |



 २)

उकुसमुकुस ग्रीष्म,
वरपिपल चौतारी, शान्त बतास,
जब गर्छ सु-कोमल चुम्बन,
हुन्छ आनन्द, शान्त तनमन,
अहा !
त्यो भन्दा आनन्दित, शान्त,
प्रिय कविको छन्द लहरी ||


३)

शैशव वसन्त,
कोमल पालुवाका मधुर धुन,
जब ठोक्किन्छ कर्णपत्रहरुमा,
भर्छ मधुर मादकता मस्तिष्कमा,
अहा !
त्यो भन्दा माधुर्य, मादक,
प्रिय कविको छन्द लहरी |||



४)
उन्मात्त शरद,
फक्रिएको वातावरण, गोधुली साँझ
जब भर्छ रस कण कणमा,
बन्छ हृदय रसिलो,
अहा !
त्यो भन्दा रसिलो, कोमल
प्रिय कविको छन्द लहरी|||
-*-----*-----*-----*-----*-




- दिनेश चन्द्र पन्थी ‘दीप’

२०७७ भाद्र २, रोज ३ |
********************************