आदरणीय इन्जिनियरहरु,
नेपाल इन्जिनियर्स एशोसियसनको
३० औँ कार्यकारी परिषदमा उपमहासचिवको हैसियतमा काम गर्ने मौका मिल्यो |
इन्जिनियरहरुको मान मर्यादा स्थापित गर्न र थप संस्थागत विकास गर्न आफुले सक्ने जति
मेहेनत गरियो | म यहाँ बुँदागत हिसाबले यो गरियो उ गरियो भन्दिन (हामीले एउटा पुस्तक
छापेका छौं तपाइहरुले हेर्न सक्नुहुनेछ) जे होस् ३० औँ
कार्यकारी परिषदलाई यहाँहरुले सम्झने केहि आधारहरु बनेका छन् | हुन त धेरै
इन्जिनियरहरुको अपेक्षाकृत काम गर्न सकियो सकिएन, यहाँहरुले नै मुल्यांकन गर्नु
भएकै होला | ने.ई.ए.को गतिविधिहरुको मुल्यांकन गर्नु अगाडी आम इन्जिनियरहरुले
यसको आधार, प्रतिनिधित्व गर्ने कार्यकारीको अधिकार र व्यक्तिगत पेशागत बाध्यताहरु
पनि बुझ्नु पर्छ र त्यहि अनुसार उमेद्वारहरुले पनि आफ्ना नाराहरु तय गर्नुपर्दछ |
यो एक बौद्दिक व्यवसाय गर्ने अभियन्ताहरुको पेशागत संस्था (Professional Forum) हो, यहाँ प्रतिनिधित्व
गर्ने हरेकको आफ्नो छुट्टै पेशा, व्यवसाय हुन्छ | अभियन्ताहरुले स्वभावत आफ्नो
पेशा र पेशागत अभिवृद्धिको लागि धेरै समय दिनुपर्ने हुन्छ | ने.ई.ए को कार्यकारी
पद भनेको कुनै लाभको पद पनि होइन | यस हिसावले सोच्दा हामीभन्दा अग्रज इन्जिनियरहरु
जसले प्रसस्त समय दिएर एशोसियसनको संस्थागत विकासका आधारहरु र आजको दिनसम्म बिस हजार भन्दा बढी नेपाली
इन्जिनियरहरुको संगठित केन्द्र बनाईदिनु भयो, म उहाँहरुलाई अन्तर्मनबाट धन्यवाद
दिन चाहन्छु | हरेक कार्यकारीले एक-एकवटा इट्टामात्र थप्दा पनि एउटा ठुलो संरचना
बन्ने रहेछ, त्यो अब आउने कार्यकारीहरुले पनि बुझुन् | सबै कुराहरुलाई समग्रमा
विचार गर्दा ३० औँ कार्यकारी परिषद्मा ई. ध्रुव थापाको नेतृत्व सफल भएको
मान्नुपर्छ | हुन त इन्जिनियरहरुले एशोसियसनले यो गरेन, त्यो गरेन, धेरै पार्टीगत
राजनीति गर्यो भनेर अनेक आरोप पनि लगाएको भेटिन्छ | एशोसियसनले सारा राज्य नै
चलाउनुपर्छ भने जस्तो आभास आउने कुराहरु पनि प्रसस्तै सुनिन्छ | ने.ई.ए. जस्ता
पेशागत संस्थाहरुको आफ्नै सिमाहरु हुन्छन, यो कुनैपनि कार्यकारी अधिकार भएको
संस्था होइन | कमसेकम इन्जिनियरहरुको हकहित, पेशागत मर्यादा र क्षमता
अभिवृद्धि गर्न निरन्तर इमान्दार भूमिका खेल्यो भनेपनि कम सम्झनु हुन्न | तर
हाम्रो जस्तो अल्पविकशित मुलुकमा भने यस्ता संस्थाहरुको प्रत्यक्ष अप्रत्यक्ष
बहुआयामिक भूमिका हुने रहेछ | समग्र विकास निर्माणमा अभियन्ताहरुलाई निरन्तर
उत्प्रेरणा गर्न, भौतिक निर्माणको क्षेत्रमा नीति निर्माण गर्न, विकासका सपनाहरु
देख्न, सम्भाव्यता अध्ययन गर्न, प्रविधिको प्रयोग र खोज गर्न साथै आधारभूत रुपमा
लोकतन्त्रको बलियो विद्वत आधार (Intellectual Base) निर्माण गर्न ने. ई.ए. जस्ता संस्थाहरुको धेरै
नै ठुलो भूमिका हुनसक्ने रहेछ |
मैले ३० औँ परिषदमा उपमहासचिवको हैसियतमा काम
गर्दा यो संस्थाको शक्ति बुझें | सानोतिनो राजनीतिक विषयहरुलाई लिएर गर्ने
आरोपहरुमा मेरो ध्यान गएन, मैले प्रत्यक्ष बिस हजारभन्दा बढी अभियन्ताहरुको समुह
देखें, विकास निर्माणकर्मीहरुको संगठित समुह देखें, यो राज्यको ठुलो शक्ति हो
भन्ने बुझें, मैले सानो सकारात्मक प्रयास गरें भने पनि बीसौं हजार इन्जिनियरहरुलाई
आफ्नो व्यवसाय र राज्यप्रति थप संबेदनशील बनाउन भूमिका खेल्न सकिन्छ भन्ने बुझें र
कार्यकाल भरि नै यहि कुराहरुलाई आफ्नो अन्तरप्रेरणा (Driving Forces) बनाएँ | इन्जिनियरहरुलाई साँच्चिकै एशोसियसनप्रति
प्रतिवद्द बनाउन सक्ने र एशोसियसनले निरन्तर सकारात्मक रुपमा विकास निर्माणका नीति
निर्माण देखि कार्यान्वयन गर्ने सम्मका (Implementation Issues) विषयहरुमा नेतृत्वदायी भूमिका खेल्न सक्ने हो भने राजनीतिक नेतृत्व
देखि अन्य सरकारी अंगहरुलाई सजिलै प्रभाव पार्न सक्ने देखिन्छ | मैले हेरें, धेरै
शक्तिशाली सचिवहरु, रास्ट्रिय गौरवका योजनाका प्रमुखहरु, हरेक निर्माण आयोजनाका
प्रमुखहरु, प्राध्यापकहरु, सूचना प्रविधि सम्बन्धि वरिस्ठ व्यक्तिहरु देखि लिएर
अनेकानेक विशिष्ट व्यक्तिहरु, विकाश निर्माणमा प्रत्यक्ष काम गर्ने हजारौं
अभियन्ताहरु यसको सदस्य छन् | एकछिन सोच्नुस त, यस्तो संस्थाको नेतृत्व
साँच्चिकै स्वप्नदर्शी, सकारात्मक, कर्मयोगी, देशप्रेमी र एक आदर्शपुरुष भयो भने
कति फरक पर्छ ? मैले आफ्नो कार्यकाल भरि एशोसियसनको यहि शक्तिमात्र देखें,
पार्टीगत राजनीति देखिन, कतिपय नकारात्मक र उत्साहहिन विचारहरुबाट टाढा हुने
प्रयास गरें | कति सकें थाहा छैन, आखिर म पनि यहि समाजको उत्पादन नै हो, म एकै
चोटी कायापलट गर्ने कुरा गर्दिन, सफलताको प्रमुख सुत्र निरन्तरता हो भन्ने मान्छु,
सामान्य मानिसहरुको शक्तिमा विश्वास गर्छु, देवत्वकरणमा विश्वास गर्दिन तर आफ्नो विचार मर्न दिन्न |
मलाई राम्रोसंग थाहा छ, ने.ई.ए.को चुनावी दौरानमा
पार्टीगत राजनीति मिसिएकै छ, चुनावी प्रक्रियामा गईसकेपछी हाम्रो जस्तो समाजमा यो
कुरा एकैचोटी रोक्न पनि सकिन्न तर म तपाईहरुलाई इमान्दारितापुर्वक भन्छु, चुनावको
१-२ महिना बाहेक तपाईहरुले एशोसियसनमा राजनीतिक गतिविधिहरु पटक्कै देख्नुहुने छैन
| कमसेकम मैले २ वर्षको कार्यकालमा कहिल्यै त्यो भेटिन | त्यसैले तपाईहरुले चुनावी
राजनीति भन्दा एशोसियसनको समग्र शक्ति (प्रत्यक्ष, अप्रत्यक्ष) बुज्नुहोस अनि
आउनुहोस यसको छाता भित्र | “के भोट हाल्ने
?” भनेर नबस्नुहोस | कहिलेकाँही त भौतिक विकासको तिब्र गतिमा हिंडिरहेका देशहरुको राष्ट्रप्रमुख
देखि विशिष्ट ओहोदाहरुमा इन्जिनियरहरुको कुशल र सफल नेतृत्व देख्दा हाम्रोमा पनि
एशोसियसनले इन्जिनियरहरुको नेतृत्व विकासमा भूमिका खेलोस भनेजस्तो पनि लाग्छ | त्यसैले
नेतृत्व विकास गर्ने र राष्ट्रिय विकास निर्माणमा सकारात्मक प्रभाव पार्न नेपाल
इन्जिनियर्स एशोसियसन अत्यन्त राम्रो आधार बन्न सक्छ | धेरै राजनीति भयो
भनेर मात्र भन्दापनि इन्जिनियर नेतृत्वको
राजनीतिक सम्बन्ध एशोसियसनको लागि सम्पति (Asset) पनि बन्न सक्छ भन्ने
कुरापनि हामीले बिर्सनु हुँदैन | कतिपयले
यसको विकल्पको वारेमा पनि कुरा गर्छन, म अलि गम्भीर हुन्छु | ५५ बर्ष लागेर बनेको
संस्था ख्याल ख्याल होइन | संस्था बनाउन, सुचारु र जीवन्त राख्न कति परिश्रम पर्छ
भन्ने ज्ञान नभएर पो हो कि जस्तो लाग्छ | अर्को महत्वपुर्ण विषय भनेको हामी
साँच्ची कै लोकतन्त्रको आधारभूत मान्यतामा विश्वास गर्छौं भने यस्ता खालका
संस्थाहरु भनेको लोकतन्त्रका बलिया खम्बाहरु पनि हुन् | मेरो विचारमा पेशागत हक
अधिकारहरु आधारभूत रुपमा लोकतन्त्र र स्वतन्त्रता कै दर्शनबाट हुर्किएका कुराहरु
हुन् |
अब आयो तंपाईले कसलाई भोट हाल्ने भन्ने कुरा | घोषणापत्र
त सबैको सरसर्ती हेर्नु भएकै होला, उम्मेदवारहरु सबै इन्जिनियर नै हुन् सबैले
राम्रै पढेका छन्, तपाइँ हामी जस्ता मतदाताहरुलाई कसरी आकर्षण गर्ने सबैले बुझेका
छन् | सबैका प्रतिवद्दताहरु उन्नाइस-बिस नै छन् भने अब आधारभूत विषयमा प्रवेश
गर्नु पर्छ | मैले यहाँ आधारभूत विषय भन्न खोजेको, को लोकतन्त्रको जगमा जन्मेको
छ? कसको जगमा व्यक्तिगत स्वतन्त्रताको दर्शन छ? को आजको दिनसम्म समग्र रुपममा
एशोसियसनलाई बिस हजार भन्दा बढी अभियन्ताहरुको संगठित घर बनाउन निरन्तर लागि रहेको
छ ? त्यो तपाईहरुले इमान्दारपुर्वक हेर्नुपर्छ | हो, हामी माझ धेरै समस्याहरु
छन्, विकाश निर्माणका कार्यहरु अपेक्षाकृत छैनन् तर एकछिन सोचौं त, हामी जस्ता
शिक्षित, कर्मयोगी र आदर्शपुरुष बन्नुपर्ने मानिसहरुको संस्थामा लोकतन्त्रको
गर्वबाट जन्मेकाहरु कमजोर भए भने कस्तो संदेश जान्छ? मेरो विचारमा लोकतन्त्रका अरु खम्बाहरु पनि
कमजोर हुन्छन् | यो तहका स्वतन्त्र र सिर्जनात्मक व्यवसाय गर्ने व्यक्तिहरुलाई त
लोकतन्त्र र स्वतन्त्रताको आधारभूत विषयहरुप्रति रुचि छैन भने हामीलाई मात्र किन ?
भन्ने डरलाग्दो संदेश प्रवाह हुनसक्छ | हाम्रो तहका मान्छेहरुले गर्ने हरेक
व्यक्तिगत निर्णयहरुमा कुनै न कुनै दार्शनिक पक्ष जोडिएकै हुनुपर्छ, ताकि त्यसले
समाजमा दिगो संदेश दिन सकोस | म यो पक्ष वा ऊ पक्षलाई भोट हाल्नुस भन्दिन , तर
हामी इन्जिनियरहरु सबै स्वतन्त्रता र लोकतन्त्र कै दिगो पक्षपाती हुनुपर्छ | त्यसैले
म सबैलाई यो आग्रह गर्छु कि तत्कालिन समाजमा कुन पक्ष प्रवल वा कमजोर छ त्यो
छोड्नुस तर तपाइँ हाम्रो सानो निर्णयले लोकतन्त्र र स्वतन्त्रताका खम्बाहरु कमजोर
हुने संदेश नजाओस |
कति साथीहरुले मलाई व्यक्तिगत रुपमा यो गरिस्,
त्यो गरिस्, यति समय दिइस्, एशोसियसनको नेतृत्वमा फेरि आउनुपर्छ भन्नुहुन्छ तर म
भन्छु, व्यक्तिगत रुपमा मैले घमण्ड गर्नुपर्ने कुनै कारण छैन किनकी मेरो
उत्प्रेरणा लोकतन्त्र र स्वतन्त्रताको जगमा अडेको दर्शन हो, मलाई अत्यन्त सहयोग
गर्ने मेरो समुह हो र मलाई निरन्तर सकारात्मक सहयोग गर्ने आम इन्जिनियरहरु हुन् |
म समुहमा विश्वास गर्छु, दिगोपनमा विश्वास गर्छु, निरन्तरतामा विश्वास गर्छु,
परिपक्कतामा विश्वास गर्छु, लोकतन्त्र, स्वतन्त्रता र समानतामा विश्वास गर्छु | समग्रमा
म लोकतान्त्रिक समुहमा विश्वास गर्छु | आम इन्जिनियरहरुले लोकतन्त्रका
खम्बाहरु (Democratic
Institutions) लाई कमजोर पार्ने खालका संदेशहरु प्रवाह गर्ने
छैनन् र त्यसै अनुरुप आफ्नो नेतृत्व चयन गर्ने छन् भन्ने कुरामा म पूर्ण विश्वास
गर्छु |
-
ई.
दिनेश चन्द्र पन्थी
उपमहासचिव
नेपाल इन्जिनियर्स
एशोसियसन
३० औँ कार्यकारी
परिषद
No comments:
Post a Comment