Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Thursday, September 24, 2009

दशैंको शुभकामना

आयु द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ॥

सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तिसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥


जयन्ती मंगला काली भद्रकाली कपालिनी ।

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः ।।




नेपालीहरुको महान चाड विजयादशमीको शुभकामना ।


Sunday, August 30, 2009

स्मारिका (मेरी छोरी)


अबोध बालपन पुष्परञ्जित मुहार
अक्षुण्य प्रेम विश्वासहरुको बहार
अनन्त आनन्द श्रेयको कारिका
अनेक उमङ्ग निश्चलतामा स्मारिका

मनमोहक सुन्दर सुसोभित पालुवा
मनमालिका शशिमुखी मनमन्दिरकी शोभा
मानुसी मृगनयनी दिल हारिका
मृत्युन्जय खुशी कारणहरुमा स्मारिका

चञ्चलता पलपलमा अपुर्व शिल शोभन
चाँदनी रातमा प्रज्वलित दीप मिलन
चीरशान्ति प्रेरणा आनन्दकी द्वारिका
चम्किलो तारा एक ताराहरुमा स्मारिका

सुन्दर बालपन प्रभात झैं कोमल
सुनका बिहानी सरि चेहरा झलमल
शान्त मनोहर सुन्दर पुष्प सरिका
शुशोभित आनन्दित पल्लवित स्मारिका


-दिनेश चन्द्र पन्थी “दीप” (असार १४, २०६६)

मेरी प्यारी वाग्मती

आज एकाबिहानै
तिम्रो अट्टहास देख्दा,
तिम्रो अस्वभाविक उन्मुक्तता देख्दा,
फोहोर र दुर्गन्धित नै भएपनि तिम्रो पुष्ट वदन देख्दा,
पारि क्षितिजको रक्ताम्मे लालिकिरण सँगै
सकिनसकि तिमी नवयौवना हुन खोजेको देख्दा
तिमी प्रतिको मेरो पुरानो सम्बन्ध
कता कता आज टुसाउन लागेको भान भईरहेछ
तिम्रो मेरो सम्बन्ध टुटाउन
ति भुस्याहाहरुले के मात्रै गरेनन्
तिम्रो अधरमा गन्हाउने थुप्राहरु राखे,
तिम्रो वदनमा अनेक प्रेमलिलाहरु रचि उफ्रिए,
तिम्रो भावभङ्गीलाई रोक्न अनेक संगीनहरु उठाए,
तिमीलाई बलात्कार गरि समाजमा तिम्रो छवि
फोहोरी,
छाडा,
गन्हाउने,
ब्यभिचारिणी
आदि इत्यादि उपमा सहितको बनाए
तिमीलाई तिम्रो मुहार देखाउन लाजमर्दो बनाए
तर
विशाल हृदयकी तिमी
समाजबाट विक्षिप्त हुन खोज्दा पनि सकेकी छैनौ
अनेक नराम्रा उपमाहरु लिएर पनि
सुध्रने चाहनामा छौ
सायद,
तिमीलाई तिम्रो त्यो पुरानो यौवनको याद आए जस्तो छ
आखिर,
म पनि त त्येसैमा लठ्ठिएको थिएँ
तिम्रो मन्द मुस्कान,
तिम्रो शान्त स्वभाव,
तिम्रो चौडा वक्षस्थल,
तिम्रो विशाल उदारता,
तिम्रो मनोहर आकृति,
तिमी वरिपरि झुल्ने
पुष्पवाटिकाहरु,
वासन्ती बगैचाहरु
तिमीसँगै लहडिने मौसमी लताहरु,
तिमीलाई साथ दिने गुलावी असारे फुलहरु,
तिम्रो छातिमा सुगन्ध भर्ने श्वेत कमलहरु
मेरो लागी पनि त औधि आकर्षणका विषयहरु नै थिए
यो मेरो पर्खाई
आज तिम्रो वर्षे अट्टहास सँगै
आनन्दित भईरहेको छ
आखिर
यो दुनियाँको लागी तिमी
ढलमति,
मलमति,
भलमति,
रोगमति,
भोगमति,
शोकमति,
हिनमति,
घिनमति
जे भएपनि
मेरो लागी
तिमी
मेरी प्यारी वाग्मती ।।
-दिनेश चन्द्र पन्थी “दीप”
२०६६-३-२६, शुक्रवार

विश्व तापमान

अहो ! कस्तो उष्ण
खै मेरो भावना आज
केहि लेख्न मन लाग्छ
मनको वहमा वग्न मन लाग्छ
भावनाको अनन्त सागरमा पौडिन मन लाग्छ
तर आज,
खै किन हो
मनको वहमा खडेरीको आभाश भईरहेछ
भावनाको सागरमा निरन्तर वाष्पिकरण भईरहेछ
असारे वर्षाको संभावना न्युन छ
यो,
निरन्तरको उष्ण
निरन्तरको उराठ
निरन्तरको वर्षाबिहिन वाष्पिकरण
निरन्तरको कुहिरीमण्डल
निरन्तरको ऐठन
किन मन मष्तिष्कमा अबिरल छाईरहेछ ?
खै आज स्वच्छ पानी
खै आज हराभरा जमिन
खै आज गंगामा छम् छम् नचाई
खै आज स्वच्छ पवन
खै आज हिम टाकुराहरुमा मुस्कान
खै आज खुला गगन
खै आज वयली खेल्ने फाँटहरु
खै आज भिरपखेराहरुमा पिपलपाते सुसेली
खै आज सांहिली माहिलीहरुमा यौवनको बसन्त
आखिर किन ?
किन आज,
यी सब,
मन्द छन्
पहेंलीदै छन्
ओइलाउँदै छन्
आड भरोसा विहिन छन्
के साँच्चै विश्व तापमान बढेकै हो त ?
कि यो सौर्यमण्डल कुनै अधिक तापीय वस्तु तर्फ बढ्दैछ ?
कि यो सौर्य परिवार संकुचित हुँदैछ ?
होइन यदि मानव निर्मित संरचनाले नै
यो उष्णता बढदैछ भने
खै हामीमा संवेदना
खै हामीमा सहनशिलता
खै हामीमा भावना
खै हामीमा प्रेम
आखिर यो सब विकाश कसका लागी ?
वायुमण्डल पुरै प्रदुषित पार्ने
उद्योग धन्दा कसका लागी ?
सयौं आणविक भट्टीहरु किन ?
मानव सुरक्षाको लागी ?
अथवा अर्को कुनै सौर्यमण्डलसँग लडाईं लड्न ?
यदि यसै हो भने,
अब विश्व तापमानले,
मानव निर्मित सुरक्षा कवच क्षणभरमा धुजा धुजा पार्ने छ
प्राकृतिक विष्फोट हुँदा,
यी आणविक हतियारहरु तिहारे पटका भन्दा अधिक शक्तिशाली गनिने छैनन्
होइन भने अब,
मानवता त्यसै खरानी हुनेवाला छ
आवाद बस्तीहरु सखाप पार्न,
कुनै शस्त्र अस्त्र चाहिने छैन
कुनै आणविक हतियार चाहिने छैन
एक देशले अर्कोलाई धावा बोल्नु पर्ने छैन
कुनै बहानामा युद्वको परिकल्पना गर्नु पर्ने छैन ।।

अमेरिका,
तिमी इराक अफगानिस्तान सखाप पार्न नलाग
तिम्ले थुपारेको इन्धन प्रयोग गर्न नपाउँदै
तिमी माथि महंगा प्राकृतिक हतियारहरु बर्सने छन्
इरान, उत्तर कोरिया ,
तिम्रा फोस्रा अडान त्याग
चिन, रसिया,
तिम्रा आडम्बरी टक्करहरु छोड
जापान, युरोप,
तिम्रा काला मुस्लाहरु फाल्ने कारखानाहरु बन्द गर
होइन भने,
विश्व तापमानले,
तिमिहरु सहित सबैलाई निल्ने छ
तिम्रा हतियारहरु निर्रथक हुनेछन्
तिम्रा आणविक भट्टीहरु आफैं पड्कने छन्
तिम्रा उद्योगहरुमा आगो दन्कनेछ
तिम्रो विज्ञान अभिसाप हुनेछ
तिम्रो आधुनिकता ब्यर्थ हुनेछ ।।

सयौं बर्षदेखि मानव समानताको पक्षमा
लडाईं लडेको भन्न रुचाउनेहरु
जातिय मुक्तिको बेमौसमी खेति गरेर हतियार उठाउनेहरु
समाजमा अनेक उत्तेजना फैलाएर
फाइदा लुट्न खोज्ने राता, पहेंला, काला मान्छेहरु
तिम्रा झुठा क्रान्ति सबले बुझिसके
सयौं बर्ष हतियार उठाएर
तिमीले समाजलाई के दियौ ?
तिम्रा आदर्शले कहाँ के गर्यो ?
खै आजसम्म मध्यपुर्वमा शान्ति
खै अफ्रिकामा जन धनको सुरक्षा
कहाँ छ मानविय संवेदनाको उच्चतम् मुल्याङ्कन ?
कुन प्राकृतिक विपत्तिलाई तिम्रो समानताको क्रान्तिले रोकेको छ ?
कहाँ सुरक्षित छ लाखौं वयस्कहरुको यौवनको इच्छा ?
साँच्चै तिमिहरुको लडाईं मानवताको पक्षमा छ भने
अब,
हरियाली क्रान्ति गर
प्राकृतिक सम्पदा जोगाउन क्रान्ति गर
पर्यावरण सन्तुलित राख्न क्रान्ति गर
वातावरण सुरक्षित राख्न क्रान्ति गर
समान जीवन भन्दा पहिले
प्राकृतिक जीवन जीउनको लागी क्रान्ति गर
होइन भने अब,
कालकुट विष आफैं निस्कनेछ,
संसार सखाप पार्ने छ
त्यति बेला,
महादेव फेरि विष निल्न आउनेवाला छैनन् ।।
-दिनेश चन्द्र पन्थी “दीप”
श्रावण १०, २०६६

Saturday, August 29, 2009

एक मान्छेको खोजीमा

कहिले मन्दिरको ढोकाबाट हेर्छु
कहिले टुँडालबाट नियाल्छु
कहिले निष्पट्ट अँध्यारोमा भौंतारिन्छु
कहिले जुनेली रातमा टहलिन्छु
कहिले फाँटफाँटै दौडिन्छु
कहिले अनकन्टार जंगलको बिचमा कुरिरहन्छु
कहिले ढोका ढक्ढक्याउँदै हिंडछु
कहिले अखवारका पाना सर्सर्ती पल्टाउँछु
कहिले भीडमा एकटंकार हेर्छु
कहिले दोबाटोमा पागलसरि एक्लै भुत्भुताई रहन्छु
केबल
एक मान्छेको खोजीमा ।

Friday, August 28, 2009

नयाँ संसार

I started my journey in  blog for the first time.
I  will  continue this blog  with a theme "A Quest for Knowledge"