आज एकाबिहानै
तिम्रो अट्टहास देख्दा,
तिम्रो अस्वभाविक उन्मुक्तता देख्दा,
फोहोर र दुर्गन्धित नै भएपनि तिम्रो पुष्ट वदन देख्दा,
पारि क्षितिजको रक्ताम्मे लालिकिरण सँगै
सकिनसकि तिमी नवयौवना हुन खोजेको देख्दा
तिमी प्रतिको मेरो पुरानो सम्बन्ध
कता कता आज टुसाउन लागेको भान भईरहेछ
तिम्रो मेरो सम्बन्ध टुटाउन
ति भुस्याहाहरुले के मात्रै गरेनन्
तिम्रो अधरमा गन्हाउने थुप्राहरु राखे,
तिम्रो वदनमा अनेक प्रेमलिलाहरु रचि उफ्रिए,
तिम्रो भावभङ्गीलाई रोक्न अनेक संगीनहरु उठाए,
तिमीलाई बलात्कार गरि समाजमा तिम्रो छवि
फोहोरी,
छाडा,
गन्हाउने,
ब्यभिचारिणी
आदि इत्यादि उपमा सहितको बनाए
तिमीलाई तिम्रो मुहार देखाउन लाजमर्दो बनाए
तर
विशाल हृदयकी तिमी
समाजबाट विक्षिप्त हुन खोज्दा पनि सकेकी छैनौ
अनेक नराम्रा उपमाहरु लिएर पनि
सुध्रने चाहनामा छौ
सायद,
तिमीलाई तिम्रो त्यो पुरानो यौवनको याद आए जस्तो छ
आखिर,
म पनि त त्येसैमा लठ्ठिएको थिएँ
तिम्रो मन्द मुस्कान,
तिम्रो शान्त स्वभाव,
तिम्रो चौडा वक्षस्थल,
तिम्रो विशाल उदारता,
तिम्रो मनोहर आकृति,
तिमी वरिपरि झुल्ने
पुष्पवाटिकाहरु,
वासन्ती बगैचाहरु
तिमीसँगै लहडिने मौसमी लताहरु,
तिमीलाई साथ दिने गुलावी असारे फुलहरु,
तिम्रो छातिमा सुगन्ध भर्ने श्वेत कमलहरु
मेरो लागी पनि त औधि आकर्षणका विषयहरु नै थिए
यो मेरो पर्खाई
आज तिम्रो वर्षे अट्टहास सँगै
आनन्दित भईरहेको छ
आखिर
यो दुनियाँको लागी तिमी
ढलमति,
मलमति,
भलमति,
रोगमति,
भोगमति,
शोकमति,
हिनमति,
घिनमति
जे भएपनि
मेरो लागी
तिमी
मेरी प्यारी वाग्मती ।।
-दिनेश चन्द्र पन्थी “दीप”
२०६६-३-२६, शुक्रवार
No comments:
Post a Comment